बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द
बेनी, वैशाख ३: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गरिने भएको छ।मालढुङ्गा–बेनी सडक निर्माणको...
बेनी, वैशाख ३: म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गरिने भएको छ।
मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिने भएको हो। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए। यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो।
बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ। एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ।
एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए। कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ। (रासस)












