राप्ती सोनारीमा आगलागी, जलेर ११ घर नष्ट
नेपालगञ्ज, वैशाख ३ : बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी....jpg)
नेपालगञ्ज, वैशाख ३ : बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएका छन्।
स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। उनका अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ।
नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर वली र कणबहादुर खत्रीको घर जलेको छ।
आगलागीबाट करीब एक करोडको क्षति भएको प्रारम्भिक आकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी बताए।
गाउँपालिकाको दमकल नभएका कारण नेपालगञ्जबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिएको स्थानीय ज्ञानु वलीले बताए। आगलागी पीडितलाई तत्काल राहतको लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए।











