बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व आवश्यक : अध्यक्ष लिङ्देन
चितवन, बैशाख २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र...
चितवन, बैशाख २ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन। राप्रपाले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरिबीको अन्त्य हुन नसकेको बताए।
उनले भने, 'बेरोजगार र गरिबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ।' उनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरुले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताए। उनले भने, 'चुनावलाई ख्यालख्याल नठानौँ, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ।'
भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उनले आग्रह गरे। उनले थपे, 'छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ।' विगत निर्वाचनहरुमा ठिक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उनको भनाइ थियो। जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उनको भनाइ थियो। उनले भने, 'देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौँ। नमूना पालिका बनाउनेछौँ।'
कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताए। अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उनीहरुको भनाइ थियो।
सो अवसरमा राप्रपाका महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहायक महामन्त्री प्रेम बलायर, सहमहामन्त्री रिना गुरुङलगायतले बोलेका थिए। जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो।











