डम्पिङ साइट व्यवस्थापन नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ
काठमाडौं, वैशाख २ : २०२२ जुलाई १० भित्र पुरा गरिसक्नुपर्ने सम्झौता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। लगभग ६ वर्षको अवधिमा पनि...
काठमाडौं, वैशाख २ : २०२२ जुलाई १० भित्र पुरा गरिसक्नुपर्ने सम्झौता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन।
लगभग ६ वर्षको अवधिमा पनि पोखरा महानगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन गर्न नसक्दा इपिसी मोडुलमा निर्माण गरिएको उक्त विमानस्थल सञ्चालनमा नआएको हो।
समयमै निर्माण सम्पन्न नगर्दा निर्माणकर्ताले प्रत्येक दिनको जरिवाना तिर्नुपर्ने हुन्थ्यो। तर, कोभिड महामारीका कारण समय थपिएको र समयअगावै विमानस्थल हस्तान्तरण गरिएको बुद्ध एयरले जनाएको छ। उनीहरूका अनुसार अहिलेसम्म उक्त विमानस्थलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ।
तर, दुई किलोमिटरको दूरीमा रहेको डम्पिङ साईटको व्यवस्थापन नहुँदा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउने अवस्था नरहेको बुद्ध एयरले जनाएको छ। डम्पिङ साइटकै कारण त्यस ठाउँमा चराचुरुंगी र कीरा विमानस्थलको रनवेमा देखिने भएकै कारण तत्कालै उडान भर्न सम्भव नरहेको उनीहरूको भनाइ छ।
विमानस्थल निर्माणसँगै पोखरा महानगरपालिकाले डम्पिङ साइटको उचित स्थानान्तरण र व्यवस्थापन गर्नुपर्नेमा बुद्ध एयरले जोड दिएको छ। विमानस्थलको निर्माण सन् २०१६ देखि सुरु भएको थियो। लगभग ६ वर्षको अवधिमा पनि पोखरा महानगरपालिकाले डम्पिङ साइटको व्यवस्थापन गर्न सकेको छैन।
बुद्ध एयरले यससम्बन्धी विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलले सम्पूर्ण गण्डकी प्रदेशको आर्थिक गतिविधिमा ठूलो भूमिका खेल्ने सबैले निक्र्यौल गरेकै हो। विदेशी मुद्रा भित्र्याउन यसले थप मद्दत गर्ने नै छ। यस विमानस्थलबाट कम भिजिविलिटीमा र रात्रिकालीन उडान पनि भर्न मिल्छ।’











