Kathmandu Press

नेपाल-चीनबीच दुई सम्झाैता र १८ समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं, असोज २६ : चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार दुवै देशबीच दुई सम्झाैता (लेटर अफ एक्सचेञ्ज) र १८ समझदारी पत्....

नेपाल-चीनबीच दुई सम्झाैता र १८ समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं, असोज २६ : चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार दुवै देशबीच दुई सम्झाैता (लेटर अफ एक्सचेञ्ज) र १८ समझदारी पत्रमा हस्ताक्षर भएको छ।

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी पत्रमा हस्ताक्षर भएको हो। समारोहमा समझदारीपत्र एक–अर्काबीच आदानप्रदान गरिएको छ।

चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे।

नेपाल–चीनबीच भएका समझदारीमा सुरुङमार्ग निर्माण, त्रिवि कम्फ्युसियस इन्स्टिच्यूट खोल्न चीनको कन्फ्युसियस विश्वविद्यालयसँग समझदारी, सीमा सुरक्षा सामग्रीसम्बन्धी र अपराधिक गतिविधि नियन्त्रणसम्बन्धी समझदारी भएको छ।

त्यस्तै, काठमाडौं र चीनको नान्जी शहरबीच भगिनी सम्बन्ध, बुटवल र सियान शहरबीच भगिनी सम्बन्ध, आयुर्वेदिक उपचार पद्धति विस्तारमा समझदारी र काठमाडौंमा खानेपानी व्यवस्थापनसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए।

 

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, असोज २६, २०७६