Kathmandu Press

काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

काठमाडौं, वैशाख २ : नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा...
काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

काठमाडौं, वैशाख २ : नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । 

काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोट लगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

अघिल्लो वर्षमा कोरोना सङ्क्रमण जोखिमका कारण भीडभाडमा जान नहुने भएका कारण बाहिर घुम्न ननिस्कने गरेकामा यस वर्ष कोरोना सङ्क्रमण जोखिम न्यून भएकाले धेरैजसो मानिस रमाइलो र आनन्द लिनका लागि घुम्न निस्केको बताउँछन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का विजय तामाङले नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित रमाइलो र मनोरञ्जन लिनका लागि देवीस्थानडाँडामा घुम्न पुगेको बताए ।

Hardik ivf

“अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ”, उनले भने, “फुर्सदका दिनभन्दा पनि सबैले मनाउने गरेको यस अवसरमा घुमघामका लागि निस्केको हुँ ।”

देवीस्थानडाँडामा परिवारसहित घुम्न पुग्नुभएका विक्रम चौलागाईँले नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर निस्केको बताए । “निर्वाचन नजिक आइसकेका कारण हिजोआज खासै फुर्सद नै मिलेको छैन”, उनले भने, “वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि पनि आएको हुँ ।”

नगरपालिकाले यहाँका देवीस्थानडाँडामा बान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले पिङ खेल्नका लागि मनोरञ्जन पार्कमा घोडा चढ्ने व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन् । काठमाडौँबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन् ।

धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभानलगायतका पर्यटकीयस्थल नयाँ वर्षका दिन धेरै आन्तरिक पर्यटकले भरिएका छन् । साथीसङ्गी र परिवारसहित बाहिर घुम्न जाँदा सबैमा खुसीको अनुभूति हुने भएकाले विशेषगरी नयाँ ठाउँ तथा रमाइलो र मनोरञ्जन लिन पाउने ठाउँमा घुम्न निस्कने गरेको उनीहरूको भनाइ छ ।

पर्यटकहरुको चहलपहलसँगै पर्यटकीयस्थलका व्यवसायीमा उत्साह थपिएको छ । लामो समयसम्म कोरोना सङ्क्रमण जोखिमका कारण सोचजस्तो आम्दानी गर्न नपाएका व्यवसायी पर्यटकको आवतजावत कम हुँदा खुम्चिए बस्नुपरेको अवस्थामा अब पर्यटकको आवागमनसँगै व्यवसाय फस्टाउने आशामा छन् ।

यसैबीच नयाँ वर्षका दिन बिहान काभ्रेपलाञ्चोकका धार्मिकस्थलमा दर्शनार्थीको घुइँचो नै लागेको थियो । पलाञ्चोकको पलाञ्चोक भगवती मन्दिर, नमोबुद्धको नमोबुद्ध गुम्बा, बनेपाको चण्डेश्वरीलगायतका मन्दिरमा दर्शनार्थी दर्शनका लागि लामबद्ध भएका थिए ।

नयाँ वर्ष सुरुआतसँगै पहिलो दिन खुशी, आनन्द, सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नका लागि मन्दिरमा पुगेर दर्शन गरेको बेथानचोक गाउँपालिका–५ का नारायण फुँयालले बताए । 

प्रकाशित मिति: ०७:५० बजे, शुक्रबार, वैशाख २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्