Kathmandu Press

अस्ट्रेलियामा पहिलोपटक आतिसबाजी गर्दै मनाइयो नेपाली नयाँ वर्ष

अस्ट्रेलियामा पहिलोपटक आतिसबाजीसहित नेपाली नयाँ वर्ष मनाइएको छ । नेपालको कलासंस्कृति झल्किने झाँकीसहितको प्रस्तुती र आकर्षक आतिसबाजीसहित अस्ट्रेलियाको राजधानी क्यानबेरामा नयाँ वर्ष २०७९ धुमधामले मनाइएको हो ।
अस्ट्रेलियामा पहिलोपटक आतिसबाजी गर्दै मनाइयो नेपाली नयाँ वर्ष

अस्ट्रेलियामा पहिलोपटक आतिसबाजीसहित नेपाली नयाँ वर्ष मनाइएको छ । नेपालको कलासंस्कृति झल्किने झाँकीसहितको प्रस्तुती र आकर्षक आतिसबाजीसहित अस्ट्रेलियाको राजधानी क्यानबेरामा नयाँ वर्ष २०७९ धुमधामले मनाइएको हो ।

नयाँ वर्ष मनाउन हजारौं नेपालीहरु क्यानबेरास्थित लेनक्स गार्डेनमा उपस्थित भएका थिए । सनातन समाज अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसिटी) का यातायात मन्त्री क्रिस स्टिल र एसिटीकै प्रतिपक्षी दलकी नेतृ एलिजावेथ ली, कार्यवाहक राजदुत कुल बहादुर मगर, अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुको महासंघ (फेन्का) का अध्यक्ष डा. कृष्ण हमाल पनि उपस्थित थिए । यस्तै, दीपक गुप्ता, जेन हियात, अमरदीप सिंह, कमलराज कुँवर, स्टेफेन होम्सलगायत अस्ट्रेलियामा स्थापित नेपाली तथा प्रतिस्ठित स्थानीयहरु पनि नेपाली नयाँ वर्ष मनाउन उपस्थित थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव वासु चापागाईंले गरेका थिए जसक्रममा सनातन समाजका भुतपूर्व सचिव ईश्वर कोइरालाले संस्थागत परिचय दिँदै अस्ट्रेलियामा नेपाली नयाँ वर्ष मनाउनुको उद्देश्य प्रस्ट्याएका थिए । यस्तै, तनुजा सुवेदी लुईटेलले स्वागत मन्तव्य दिएकी थिइन् ।

अस्ट्रेलियामा नेपाल र नेपालीको पृथक पहिचान स्थापित गर्न सो कार्यक्रम आयोजना गरिएको आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताएका छन् ।

‘नेपालको संस्कृति निकै समृद्ध र विविधतापूर्ण छ । चाडवर्प, झाँकी, जात्रालगायतका उत्सव हाम्रो कलासंस्कृतिका पहिचान हुन् । हामीले अस्ट्रेलियामा त्यही मौलिकता प्रस्तुत गर्न खोजेका हौं,’ अध्यक्ष मल्लले भने ।

पहिलोपटक अस्ट्रेलियामा नयाँ वर्ष मनाउन सहजीकरण गरेको सनातन समाजले अब अस्ट्रेलियामा पशुपतिनाथको मन्दिर बनाउने जमर्को गर्दैछ । अस्ट्रेलियामा सनातन समाज स्थापना गर्नुको मुख्य कारण नै पशुपतिनाथको मन्दिर त्यहाँ पनि स्थापना गर्नु रहेको अध्यक्ष मल्लले बताए ।

‘अस्ट्रेलियामा हजारौंको संख्यामा नेपालीहरु बस्दै आएका छन्, र हरेक वर्ष यो संख्या बढ्दो क्रममा रहेको छ । विदेशमा रहेर पनि आफ्नो देशबाट टाढा भएको महसुस नहोस् भनेर हामी विभिन्न कार्यक्रम आयोजना गरिरहेका हुन्छौं,’ मल्लले भने, ‘अब हामी नेपालीहरुका इस्टदेव पशुपतिनाथको मन्दिर क्यानबेरामा स्थापना गर्ने सोचमा छौं । हाम्रो संस्थाको एकमात्र लक्ष्य त्यही हो । यसले नेपालीहरुलाई पनि घरबाट नजिकै रहेको महसुस गराउनेछ भने क्यानबेराको विविधतामा थप टेवा पुर्याउने हामीले विश्वास लिएका छौं ।’

सनातन समाजले लेनक्स गार्डेनमा आयोजना गरेको नयाँ वर्ष कार्यक्रममा हजारौंको संख्यामा नेपालीहरु उपस्थित थिए । पृथकता नभएर अस्ट्रेलियामा नेपाल र नेपालीहरुलाई भारतीय मानिने त्यहाँ बस्दै आएका नेपालीहरुको गुनासो रहँदै आएको थियो । तर, यी र यस्ता कार्यक्रममले नेपाल र नेपालीका बारे अस्ट्रेलियामा चेतना फैलिने सहभागीहरुको विश्वास छ ।

तस्बिरमा हेर्नुहोस् अस्ट्रेलियामा मनाइएको नेपाली नयाँ वर्षको राैनकः

तस्बिरः दीपेन्द्र घिमेरे र अभिषेक महर्जन

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, वैशाख १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्