प्रभा बराल : सामाजिक विकासमा उत्कृष्ट काम गर्ने मेयर
नगरपालिकाभित्रका विद्यालयमा अहिले शिक्षकभन्दा शिक्षिका धेरै छन् । त्यसैले सुत्केरी बिदा तीन महिना बस्दा विद्यार्थीको पढाइ छुट्ने भएकाले सट्टामा अध्ययन गराउन मिल्ने शिक्षक व्यवस्था गरिएको उनी बताउँछिन् ।
काठमाडाैं, वैशाख १ : नगरपालिका संघको २९औँ वार्षिकोत्सव (फागुन २९) का अवसरमा विभिन्न पाँच विधाअन्तर्गत उत्कृष्ट हुने सात नगरपालिकालाई पुरस्कृत गरियो, जसमध्ये एक थियो– राप्ती नगरपालिका । सामाजिक विकास विधाअन्तर्गत उत्कृष्ट ठहरिएको राप्तीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मानपत्र पाएको छ ।
‘राप्ती नगरपालिकाले पाँच वर्षमा धेरै काम गर्न सक्थ्यो । एक वर्ष नीति बनाउनै लाग्यो । धमाधम काम सुरु हुँदै गर्दा कोरोना महामारी आइलाग्यो, तर पनि योजना अनुसार धेरै काम गर्न सफल भयौँ,’ राप्ती नगरपालिका प्रमुख प्रभा बराल भन्छिन्, ‘हामीले ठुल्ठूला योजना बनाएनौँ, जनताका स–साना समस्यालाई ध्यानमा राखेर काम ग¥यौँ । शिक्षा र स्वास्थ्यलाई जोड दियौँ ।’एक–दुईजनालाई खुसी पार्ने काम नभई साझा काम गरेकाले आफूहरूलाई सफलता मिलेको प्रमुख बराल बताउँछिन् ।
आफू प्रमुख भएदेखि गत माघ २८ सम्म नगरपालिकामा एक सयपटक बैठक बसेको प्रमुख बराल बताउँछिन् । ‘सय बैठकमा आठ सय ४० एजेन्डामाथि छलफल भए,’ प्रमुख बराल भन्छिन्, ‘ती एजेन्डामध्ये ९० प्रतिशत काम भएका छन् । पाँच प्रतिशतको काम चलिरहेको छ र पाँच प्रतिशत विविध कारणले रोकिएका छन् ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा सफलता
उत्कृष्ट नगरपालिका छान्नका लागि नगरपालिका संघले पाँच (सामाजिक, पूर्वाधार, आर्थिक, संस्थागत र वन तथा वातावरण) क्षेत्रमा भएका काम हेरेको थियो । संघको आँखामा सामाजिक विकास विधातर्फ उत्कृष्ट ठहरिन पुगेको राप्तीले आखिर के गरेको थियो ? ‘हामीले सामाजिक विधामा महिला, बालबालिका, ज्येष्ठ नागरिकसँगै शिक्षा र स्वास्थ्यमा ध्यान दिएर काम गरेका थियौँ,’ प्रमुख बराल भन्छिन्, ‘शिक्षातर्फ बालबालिकालाई पढ्न आवश्यक पूर्वाधार, शैक्षिक सामग्री, आवश्यक शिक्षक दरबन्दी मिलाउने काम गरियो । शिक्षाको गुणस्तर बढाउन तीन महिना निःशुल्क ट्युसन कक्षासँगै स्थानीय पाठ्यक्रमलाई जोड दिएका थियौँ ।’
यसका लागि आफूहरूले गाउँ–गाउँ डुलेर स्थानीयका समस्या बुझी त्यहीअनुरुप योजना बनाएको प्रमुख बराल बताउँछिन् । जनतासँग जोडिएका साझा कार्यक्रम ल्याएकाले सम्पन्न गर्न सहज भएको उनको भनाइ छ ।
‘स्वास्थ्यतर्फ नगरपालिकाका १३ वटै वडामा स्वास्थ्यचौकी, नगरपालिकामा एक ठूलो अस्पताल, दीर्घरोगीका लागि ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा, महिलाका लागि महिला विशेषज्ञसहितको अस्पताल, अशक्तलाई निःशुल्क उपचार, गर्भवती महिलालाई निःशुल्क औषधि, सुत्केरी महिलालाई औषधिसहित दुई हजार नगद उपलब्ध गराएका थियौँ,’ प्रमुख बराल भन्छिन्, ‘ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता पु¥याइदिने, दीर्घरोगीलाई हेरचाह गर्ने परिवारका सदस्यलाई अभिनन्दन गर्ने लगायत काम हामीले ग¥यौँ ।’
राजनीतिक यात्रा
कास्कीको पोखरा महानगरपालिका– ७ बैदाममा जन्मेकी प्रभाले सानैदेखि कम्युनिस्ट पार्टीप्रति आस्था राख्न पुगिन् । उनका बुवा टेकनाथ बराल वामपन्थी आन्दोलनका नेता थिए । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा लागेका कारण आफ्नो बुवालाई देश निकाला गरिएको र आफूहरूलाई त्यतिबेला प्रहरीले निकै दुःख दिएको प्रमुख बराल बताउँछिन् । ‘म सानै थिएँ, प्रहरीले हाम्रो परिवारलाई धेरै दुःख दिएको थियो । मेरो बुवा भारतमा रहेर आन्दोलनमा लाग्नुभयो,’ ५२ वर्षीया बराल भन्छिन्, ‘मलाई सानैदेखि असल मान्छे कम्युनिस्ट हुँदा रहेछन् भन्ने लागेको थियो । म ०४२ सालदेखि अनेरास्ववियुमा जोडिएँ ।’
प्रभाले पोखराको ताल वाराहीबाट २०४५ मा एसएलसी गरेकी हुन् । पञ्चायतविरुद्धको आन्दोलन उत्कर्षमा पुग्दै गरेका बेला उनी पृथ्वीनारायण क्याम्पसमा भर्ना भइन् र क्याम्पसको प्रारम्भिक कमिटीको सहसचिव भएर काम गर्न थालिन् । ‘पञ्चायतविरुद्ध जनवादी गीत मैले सानैदेखि गाउँथेँ । नमिता–सुनिता हत्याकाण्डविरुद्ध कास्कीमा ठुल्ठूला आमसभा भएका थिए, त्यसमा मलाई दिदीदाइहरूले पञ्चायतविरुद्ध जनवादी गीत गाउन लगाउनुहुन्थ्यो,’ बराल भन्छिन्, ‘कलेज भर्ना भएको वर्ष फागुन १ गतेबाटै आन्दोलनको घोषणा गरिएको थियो । पार्टीले मलाई विद्यार्थी आन्दोलनको जिम्मा दिएको थियो । त्यतिखेर मैले पृथ्वीनारायण क्याम्पसमा भाषण गरेँ, त्यसपछि म पुलिसको आँखामा परेँ ।’

त्यसपछि उनले कास्की अखिल नेपाल महिला संघको अध्यक्ष भएर काम गर्न थालिन् । यसै सिलसिलामा चितवन राप्ती नगरपालिका– ७ का हरि पौडेलसँग उनको जनवादी विवाह भयो । त्यसयता उनी चितवनवासी भइन् । ‘जनवादी विवाह भएकै कारण राजनीतिमा केही असहज भएन,’ उनी भन्छिन्, राजनीति गर्दै पढ्ने अवसर पाएँ, श्रीमानसँगै सम्पूर्ण परिवार राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।’ अहिले उनका श्रीमान् जिल्ला सहकारी संघको अध्यक्ष, प्रदेश कमिटीको सदस्य, कृषि सहकारी संघको सचिवका रूपमा कार्यरत छन् ।
विवाहपछि उनले राप्ती नगरपालिका– ७ मा रहेको जनआदर्श बहुमुखी क्याम्पसबाट स्नातक गरिन् । अध्ययनसँगै उनी नारायणी अञ्चलको अध्यक्ष, अनेम संघको अध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, प्रदेश कमिटीको सदस्य रही काम गर्दै ०७४ मा नेकपा एमालेबाट टिकट पाई राप्ती नगरपालिकाको प्रमुख बन्न पुगिन् ।
मुख्य तीन काम
आफू प्रमुख भएपछि आवश्यक ऐननियम बनाउनेसँगै भौतिक पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा काम गरेको उनी बताउँछिन् । मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै भएको पहिलो स्थानीय निर्वाचनपछि चुनिएका जनप्रतिनिधिको काँधमा सर्वप्रथम ऐन, नियमावली, कार्यविधि बनाउने जिम्मेवारी थियो । तोकिएको अधिकार क्षेत्रभित्र रहेर काम गर्दै जाँदा जुन नियमको अभाव हुन्छ, त्यही बनाउँदै गएको उनी बताउँछिन् ।
त्यसपछि उनले भौतिक पूर्वाधार निर्माणतर्फ जोड दिन थालिन् । ‘नगरपालिकाको भवनदेखि १३ वटै वडामा कार्यालय भवन, नगर सभाहल, अस्पताल, स्वास्थ्य चौकी बनाएका छौँ,’ उनी भन्छिन्, ‘शाखागत कार्यालय निर्माण र व्यवस्थापन, खोप केन्द्र निर्माण, २५० किलोमिटर सडकमा उच्चस्तरीय ग्राबेल, २५ किलोमिटर सडकमा कालोपत्रे, पाँच किलोमिटर कुलो, ६ किलोमिटर नाला निर्माण गरेका छौँ ।’
सामाजिक विकासतर्फ उनले शिक्षामा जोड दिइन् । नगरपालिकामा शतप्रतिशत बालबालिकालाई विद्यालय भर्नाका लागि पहल गरेको उनको भनाइ छ । ‘पहिले १० प्रतिशत विद्यार्थी विद्यालय बाहिर थिए । जसमा पाँच प्रतिशतलाई विद्यालयसम्म ल्यायौँ । अझै पाँच प्रतिशतलाई ल्याउन बाँकी छ,’ उनी भन्छिन्, ‘बालविवाहको समस्या छ, चेपाङ समुदायभित्र । त्यसैले २० वर्ष उमेर पूरा भएर अध्ययन गरिरहेका महिलालाई वार्षिक १५ हजार रुपैयाँ दिन्छौँ ।’ यो रकम अझै बढाउँदै लैजाने योजना छ । यसले बालविवाह रोकिने र पढ्नुपर्छ भन्ने सोच विकास हुने उनको बुझाइ छ ।
नगरपालिकाको वडा ३, १०, ११, १२, १३ मा चेपाङ बस्ती छ, जुन बस्ती सदियौँदेखि शिक्षा र राज्यका सेवासुविधाबाट वञ्चित छ । त्यसैले चेपाङ समुदायका बालबालिकालाई शिक्षामा पहुँच बढाउन होस्टलको व्यवस्था गरिएको उनी बताउँछिन् । ‘होस्टलका तीनवटा भवन छन्, जहाँ एक सय ६० जना अट्छन्,’ उनी भन्छिन्, ‘चेपाङ समुदायका बालबालिका र टाढा घर भएका विद्यार्थीलाई प्राथमिकता दिएर राखेका छौँ ।’
नगरपालिकाभित्रका विद्यालयमा अहिले शिक्षकभन्दा शिक्षिका धेरै छन् । त्यसैले सुत्केरी बिदा तीन महिना बस्दा विद्यार्थीको पढाइ छुट्ने भएकाले सट्टामा अध्ययन गराउन मिल्ने शिक्षक व्यवस्था गरिएको उनी बताउँछिन् ।
आफ्नो नगरपालिकालाई पर्यटकीय नगरका रूपमा चिनाउन र विकास गर्न स्थानीय स्रोत–साधनको जानकारी समेटेर पाठ्यक्रम समेत तयार गरिएको उनको भनाइ छ । ‘यस्तै, बाल कक्षामा पढाउने शिक्षिकाको न्यून तलब थियो । श्रम ऐनभित्र रहेर १५ हजार रुपैयाँ तलब बनाएका छौँ,’ उनी भन्छिन्, ‘स्वयंसेविकालाई केही खर्च दिने व्यवस्था नगरपालिकाले गरेको छ । यसले मातृ मृत्युदर शून्यमा पुगेको छ ।’
पुनः प्रमुख होइन, नीति बनाउने ठाउँमा पुग्ने चाहना
नगरपालिका प्रमुख भएर पाँच वर्ष बिताउँदा प्रभाले जनताका मिहीन समस्या नियालेकी छन् । ती समस्या समाधानका लागि कार्यक्रमभन्दा अघि नीति आवश्यक हुन्छ । त्यसैले अब नीति बनाउने ठाउँ अर्थात् संसद्मा जाने उनको चाहना छ । उनी भन्छिन्, ‘त्यसैले अब पुनः म नगरपालिकाको प्रमुखमा होइन, नीति बनाउने पदमा काम गर्न चाहन्छु । फेरि पनि म पार्टीको कार्यकर्ता हुँ । भोलि पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही काम गर्नु त छँदै छ ।’











-(86)-1764936079.jpg)
