एमालेका ८० प्रतिशत इमानदार नेताकार्यकर्तालाई नेतृत्वले बन्दी बनाएको छ : प्रचण्ड
खुमलटारमा आज (बिहीबार) आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वबाट बन्दी बनाइएका सबै नेताकार्यकर्तालाई मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए।
काठमाडौं, वैशाख १ : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा रहेका ८० प्रतिशत इमानदार कार्यकर्तालाई नेतृत्वले बन्दी बनाएको दाबी गरेका छन्।
खुमलटारमा आज (बिहीबार) आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वबाट बन्दी बनाइएका सबै नेताकार्यकर्तालाई मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘एमालेका सबै खराब छन् भन्ने होइन। एमालेभित्र तीन वर्ष बस्दा को कस्ता रहेछन् भन्ने थाहा पायौं। त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै छन्। तर त्यहाँ नेतृत्वले धेरै भ्रम दिएर बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई,’ उनले भने, ‘प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएकालाई हामीले मुक्त गर्नु छ र तिनको पनि नेतृत्व गर्नु छ।' त्यस्ताे सोचाइ नराखी क्रान्ति अगाडि बढ्न नसक्ने तर्क उनले गरे।
प्रचण्डले विगतमा एमालेसँग एकीकरण गर्दा आफूहरूले ६० प्रतिशत भाग पाएको भए पार्टी नफुट्ने दाबी पनि उनले गरे। विगतमा एमालेसँग एकीकरण हुँदा सो पार्टीका नेताकार्याकर्ताले नेता भेटियो भन्दै खुसी व्यक्त गरेको स्मरण पनि गरे।
प्रचण्डले अहिले पनि माओवादीलाई घेरा हाल्ने क्रम नरोकिएको बताए। जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयावादीहरुले घेरा हाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्नेमा उनले जाेड दिए।
प्रचण्डले नेकपाका नेताहरुसँग छलफल भइरहेको भन्दै नेकपाको सिंगो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दाबी गरे। उनले नेकपाका केही नेताहरु अझै पनि जेलमा रहेको भन्दै उनीहरुलाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको जानकारी दिए।
उनले छरिएर रहेका माओवादीहरु एक भएर प्रतिक्रियावादीलाई प्ररास्त गर्नुपर्ने धारणा राखे। वैज्ञानिक समाजवादतर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उनले बताए।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउन देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेको उल्लेख गरे।











