१५ औं दरवारमार्ग महोत्सवको तयारी पुरा, आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं, चैत ३० : नेपाली नयाँ वर्ष २०७९ को अवसरमा यहि वैशाख ३ गते आयोजना हुन लागेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित यो महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसंग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको छ ।
सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुुभारम्भ शनिवार विहान ११ः४५ बजे हुनेछ । गीत संगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहका सहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिने जनाईएको छ।
यस्तै चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरु हुन् ।
महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुतीहरु रहनेछन् । महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिने छन् ।
महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्पm नारायणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको छ ।











