Kathmandu Press

तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ

राैतहट, चैत ३० : रौतहटको बिपी कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई अख्तियारले घुससहित पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका–७ मा रहेका विद्यालयका प्रधानाध्यापकसहित...
तीन लाख घुससहित प्रधानाध्यापक पक्राउ

राैतहट, चैत ३० : रौतहटको बिपी कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई अख्तियारले घुससहित पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका–७ मा रहेका विद्यालयका प्रधानाध्यापकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो। उनीहरूलाई बुधबार घुसको रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक राकेश ठाकुर र उनका सहयोगी दीपेन्द्रकुमार झालाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंबाट खटिएको डिएसपी पुष्पमल्ल ठकुरी नेतृत्वको टोलीले सरुअठा चोकबाट नियन्त्रणमा लिएको हो। ठाकुरले आफ्नै विद्यालयको उच्च माध्यमिक तहमा अध्यापन गर्ने दुई शिक्षकको समय अवधि म्याद थप गर्न जनही १ लाख पचास हजार रुपैयाँ लिएका थिए। त्यही वेला घुसको रकमसहित अख्तियारले नियन्त्रणमा लिएको हो। प्रधानाध्यापक ठाकुरले पैसा दिएपछि मात्र म्याद थप्ने माग अघि सारेपछि पीडित शिक्षकले अख्तियारलाई जानकारी गराएका थिए। अख्तियारको टोलीले करारको शिक्षकको म्याद थप्ने बाहानामा तीन लाख रकम माग गरेको र उक्त रकमसहित दुबैलाई नियन्त्रणमा लिइएको हो।

Hardik ivf

अख्तियारको टोलीले सामान्य सोधपुछपछि ठाकुर र सहयोगी झालाई आवश्यक कारबाहीका लागि बुधबार दिउँसो काठमाडौं लगेको छ। प्रधानाध्यापक ठाकुरले शिक्षक नियुक्ति र म्याद थप्ने बाहनामा शिक्षकहरूबाट रकम लिने गरेको स्थानीयको गुनासो छ।

अख्तियारले डेढ महिनाको अवधिमा यस जिल्लाबाट घुसको रकमसहित पक्राउ गरेको यो दोस्रो घटना हो। एक महिनाअघि गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, लेखापाल प्रदीप यादव, योजनाका कर्मचारी मुकेश पटेल र नगरप्रमुखका स्वकीय सचिव अशोक पटेललाई नियन्त्रणमा लिएर काठमाडौं लगेको थियो। उनीहरू धरौटी तारेखमा रिहा भइसकेका छन्।

प्रकाशित मिति: १८:५२ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्