नयाँ वर्ष राजनीतिकरूपले स्थिर, सबल र समृद्धि बनोस् : पूर्वअध्यक्ष रेग्मी
काठमाडाैं, चैत ३० : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु...
काठमाडाैं, चैत ३० : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनताको सुख, शान्ति र समृद्धि नै राज्यको मुख्य उद्देश्य रहेको हुँदा सबै प्रयासहरू त्यसैतर्फ केन्द्रित हुनु आजको आवश्यकता रहेको बताएका छन्।
नववर्ष २०७९ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, 'लामो समयदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध हुने आकाक्षा राखेका हामी नेपालीहरू आफ्नो सुखद् भविष्यका लागि अनवरत संघर्ष गरिरहेका छौं।'
राजनीतिक रूपले असङ्गतिपूर्ण अवस्थामा पुगेकै कारण कार्यपालिका, न्यायपालिका र संसद्लगायत धेरै क्षेत्र लथालिङगतर्फ उन्मुख रहेको बताउँदै उनले स्थानीय निर्वाचनलाई प्रत्यक्ष प्रजातन्त्रको प्रारूप पनि मान्न सकिने भएकाले हाम्रा मान्छे नभई योग्य र राम्रा मान्छेलाई उम्मेदवार बनाउन राजनीतिक दललाई सुझाव दिए।
उनले सन्देशमा भनेका छन्, 'बिग्रँदो अर्थतन्त्रलाई बेलैमा सम्हाल्दै राजनीतिक दल, नेतृत्व तहका व्यक्ति र नेपाली मात्रले नयाँ वर्ष राजनीतिक रूपले स्थिर र सवल, विकास र समृद्धिका लागि सही नीति र कार्यदिशा अवलम्बन गरी अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले बढी सन्तुलित एवं विश्वसनीय बनाई स्वस्थ एवं सवल राष्ट्रको रूपमा पहिचान दिँदै अघि बढ्न सफल होऔं भन्ने कामना गर्दछु।'












