पाँचथरमा आजदेखि चौंरी महोत्सव
पाँचथर, चैत ३० : विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौंरी महोत्सव आयोजना हुँदैछ। आजदेखि सुरु हुने...
पाँचथर, चैत ३० : विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौंरी महोत्सव आयोजना हुँदैछ। आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ ।
उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवर्धन गर्ने, चौंरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो। फालेलुङ गाउँपालिका-४ चाररातेमा आयोजना हुने उक्त महोत्सवमा चौंरी, चौंरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिने महोत्सव मूल आयोजक समितिका सचिव सुनिल वान्तवाले जानकारी दिए।
विगतमा एकदिने महोत्सव आयोजना गरिँदै आएको थियो। फालेलुङ गाउँपालिकाको सहयोगमा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सव आयोजना गरेका हुन्। तीन हजार ५६० मिटरको उचाइमा रहेको नेपाल-भारत सीमावर्ती क्षेत्रमा महोत्सव आयोजना गरिँदैछ।
यस वर्ष महोत्सवमा करिब पाँच सय चौंरीलाई एकसाथ प्रदर्शनमा सहभागी गराइने भएको छ। चौंरीपालनमा आधारित संस्कृति लोप हुँदै गएको र त्यसको संवद्र्धन गर्दै उच्च पहाडी क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्न, चौंरीजन्य सामग्रीको बजार र मूल्य सुनिश्चितताका लागि सहयोग गर्न, जैविक विविधताको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिन, रैथाने परम्परा, कला संस्कृतिको संवर्धन गर्न महोत्सवबाट सहयोग पुर्याउने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले बताए। स्थानीय उत्पादनको प्रदर्शनी, भेडाको ऊनबाट बनेका सामग्रीको प्रदर्शनी र बिक्री, घोडचढी, याक चढी, गोठबास ९गोठस्टे० मा बसोबासको प्रबन्धजस्ता महोत्सवका आकर्षण हुन ।
महोत्वसका अवसरमा उत्कृष्ट चाैंरीपालक किसानलाई सम्मान गरिनेछ। यस वर्षदेखि याक गोल्डकप सञ्चालन गरिनेछ। गोल्डकपमा चौंरीपालक किसान सहभागी हुनेछन्। महोत्सवका सहभागीले नेपाल-भारत क्षेत्रबाट नेपाल र भारतका विभिन्न भू–भाग तथा नेपाल, भारत र भूटानका हिमालको दृश्यावलोकन गर्न सक्नेछन्। चौंरीको चरन क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौंरीको सङ्ख्या घट्दै गएको छ।












