कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं, चैत ३० : स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउसो...
काठमाडौं, चैत ३० : स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रको तयारीबारे बैठकमा छलफल हुनेछ।
कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा चुनावी घोषणापत्र तयारी समिति बनाएको छ। समितिमा विभिन्न क्षेत्रका विज्ञ सहभागी छन्।
समितिले विभिन्न क्षेत्रका व्यक्तिसँग सुझाव पनि लिइरहेको छ। त्यसका विषयमा आजको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने भएको छ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेर चुनाव लड्न तय गरिसकेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यसका आधारमा पनि तय गरिसकेको छ।
चुनावी घोषणापत्र भने पाँच दलले आआफ्नो तरिकाले सार्वजनिक गर्नेछ। उनीहरुको घोषणापत्र भने फरकफरक हुनेछ।











