मन्त्री बडूसँग क्यानाडाका राजदूतको भेटवार्ता
काठमाडाैं, चैत २९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन। मन्त्रालयमा...
काठमाडाैं, चैत २९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री बडूले नेपालको विकासमा क्यानाडाले गरेको सहयोगको प्रशंसा गर्दै कोभिड–१९ महामारीका बेला स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवादसमेत व्यक्त गरे। साथै उनले कोभिडको सङ्क्रमणपछिको अवस्थामा पनि सहयोगको निरन्तरताका लागि आग्रह गरेका थिए। यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै मन्त्री बडूले नेपालको विकास प्राथमिकताअनुरूप विगतमा झैँ क्यानाडा सरकारले आगामी दिनमा पनि नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरे।
पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको र नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा विकासमा समेत क्यानाडा सरकारको सहयोग प्रशंसनीय रहेको बताउँदै उनले व्यापार सहजीकरण तथा कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र मानव संसाधन विकासका क्षेत्रमा नेपालमा लगानी बढाउन अनुरोध गरेका थिए।
सो अवसरमा राजदूत म्याकेले नेपाल सदैव क्यानाडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि गर्न सकिने बताए। क्यानाडा सरकार तथा अन्य लगानीकर्तामार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताउँदै उनले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतिमार्फत लगानीकर्तामा विश्वास सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए।












