एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : अध्यक्ष ओली
काठमाडाैं, चैत २९ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका...
काठमाडाैं, चैत २९ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले विकास र समृद्धिको नेतृत्व विगतमा गरेको र भविष्यमा पनि गर्ने बताएका छन। एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको उल्लेख गरे।
विसं २०५१ मा विसं २०७२ को राजनीतिक परिवर्तन पछि सरकारको नेतृत्व गर्दा एमालेले विकासका काम गरेर नागरिकको मन जितेको उनले बताए। उनले भने, 'अहिले पनि तीनै तहमा एमाले नेतृत्व आएमा नागरिकको समृद्धिको आकाङ्क्षा पूरा हुनसक्छ।'
एमालेले समाजमा सहयोग आवश्यक पर्ने वर्गलाई विशेष सम्मान र आरक्षण गर्दै आएको पूर्वप्रधानमन्त्री ओलीले बताए। ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एमाले नेतृत्वको सरकारले ल्याएको र समयानुसार बढाएको उनले बताए। शारीरिक अपाङ्गता भएका व्यक्ति, अशक्त, एकल महिलालगायतका बर्गले एमालेलाई नै रुचाएको उनले बताए।
आफूले सरकारको नेतृत्व गर्दा तुइन विस्थापित गरेर त्यस ठाउँमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको अध्यक्ष ओलीले बताए। आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा देशभरका धेरै सडक चौडा बनाएको उनको दावी थियो। ललितपुर विगतदेखि नै बामपन्थीको पकड रहेको उनले उल्लेख गरे। एमाले पोटिब्युरो सदस्य महेश बस्नेतले ललितपुर जिल्लाका सबै स्थानीय तहमा पार्टीलाई विजयी गराउन पार्टी नेतृत्व एकजुट भएर लाग्नुपर्ने बताए।











