Kathmandu Press

आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

आयोगद्वारा आचारसंहिता पालन गर्न गराउन ध्यानाकर्षण

काठमाडाैं, चैत २९ : निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ।

निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि सम्पूर्ण राजनीतिक दल, नेतागण, कार्यकर्ता एवं सम्बद्ध सबैलाई आयोगले पुनः स्मरण गराएको हो। निर्वाचन आचारसंहिताप्रति सबै राजनीतिक दलले प्रतिबद्धता जनाइसकेको हुँदा पार्टीको झण्डा र चुनाव चिह्न तोकिएको आकारभन्दा ठूलो हुन नपाउने स्पष्ट व्यवस्थालाई राजनीतिक दल र उम्मेदवारबाट पूर्ण पालना हुन्छ भन्नेमा आयोग विश्वस्त रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

Hardik ivf

आयोगको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगले यही चैत २५ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहितालाई कार्यान्वयनमा ल्याएको विदितै छ। आचारसंहितामा राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था छ।'

उम्मेदवारको कार्यलयमा तुल (कपडा) मा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने पनि निर्वाचन आचारसंहितामा उल्लेख छ।

आचारसंहितामा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन निषेध गरेको छ।

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्