Kathmandu Press

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने खानेपानीमन्त्रीको दाबी 

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने खानेपानीमन्त्रीको दाबी 

काठमाडौं, चैत २९ : खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन्। 

मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए। 

Hardik ivf

गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो।

परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए। 
 

सो अवसरमा उनले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गरे। मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए। कार्यक्रममा उनले सन्तनेता स्वर्गीय कुष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण पनि गरे। 

हेलम्बु गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पाले यहाँका बाढीपीडितको समस्या समाधानका लागि मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घीय सरकारको ध्यानाकर्षण गराए। उनले ११ बुँदे ज्ञापनपत्र बुझाउँदै हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रतिपरिवार रु पाँच लाख तोकिएकामा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गरे। 
 
मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड बापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि पनि ठोस पहल गर्न उनले सरकारसँग आग्रह गरे। 

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पालगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, चैत २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्