सेवा शुल्क विवादः श्रम विभागले बोलाएको वार्ता रेबानद्वारा बहिस्कार
काठमाडौं, माघ २२ः रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विषयमा श्रम विभागले बोलाएको वार्ता रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले बहिस्कार गर....
काठमाडौं, माघ २२ः रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विषयमा श्रम विभागले बोलाएको वार्ता रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले बहिस्कार गरेको छ ।
मजदुर संगठनहरु र रेबानबीच श्रम विभागको रोहवरमा आज दिउँसो ३ बजे त्रिपक्षीय वार्ता गर्ने तय भएको थियो । “हामीले बहिस्कार भन्दा पनि तयार नपुगेकोले आजको वार्तामा नगएको हो,” रेबानका अध्यक्ष प्रमोद जैसवालले भने ।
रेबानसँग वार्ता नगर्ने भनेका मजदुर संगठनहरु पनि विभागको रोहबरमा भने वार्तामा बस्न तयार भएका थिए । श्रम विभागले मजदुर संगठन र रेबानलाई पत्र काटेर वार्तामा बोलाएको हो । “वार्ता गर्दै गरे पनि सेवा शुल्क कटौतिको निर्णय फिर्ता हुने अवस्था छैन,” जैसवालले भने ।
अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघका महासचिव मुक्ती दाहालले भने रेबानले वार्ता बहिस्कार गरे पनि श्रम विभागले भाेलिसम्म सहमतिका लागि कुर्नु भनेकोले धैर्य गरेको बताए । भाेलिसम्म रेबानलाई पत्र काटेर कटौतिको निर्णय फिर्ता गराउने आस्वासन श्रम विभागले दिएकोले बन्दका कार्यक्रम तय नगरेको दाहालले बताए ।
काठमाडौं, पोखरा, चितवन, सौरहा तथा लुम्बिनीका आधिकांस रेष्टुरेन्हरुले १० प्रतिशत सेवा शुल्क लिन छाडेका छन् । काठमाडौका ठूला रेष्टुरेन्टहरु आँगन, गुलाब स्विट्स, संगम स्विट्स, केएफसी, थर्ड आई, ब्ल्याक पिपर, भ्याली फ्राइड चिकेन, नाङ्लो बेकरी लगायत दर्जनौ रेष्टुरेन्टहरुले सेवा शुल्क विलमा जोड्न छाडेको रेबानले जनाएको छ । त्यस्तैगरी पोखरा, चितवन र सौराहाका रेस्टुरेन्टहरुले पनि सेवा शुल्क लिन छोडेको रेबानले जनाएको छ ।
युद्धकालबाट शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर संगठनको दवावमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रुपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो ।






