संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छ : अध्यक्ष दाहाल
काठमाडाैं, चैत २९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ...काठमाडाैं, चैत २९ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन् । आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उनले जोड दिए।
सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा उनले आम नेपालीले ल्याएको परिवर्तन जनता आफैँले अनुभूति गर्नुपर्ने बताए। उनले भने, ‘त्यसका लागि पनि संविधानका आधारमा कानुन बनाउनुपर्छ।’
‘डिजिटलाइजेसन’ र ‘ग्लोबलाइजेसन’ को अधिकतम फाइदा लिनुपर्नेमा अध्यक्ष दाहालको जोड छ । यसबाट कसरी फाइदा लिन सकिन्छ भनी सकारात्मक र रचनात्मक विश्लेषण गर्नुपर्ने उनले बताए।
विकासको अरुको मोडेललाई यान्त्रिक तरिकाले जसरी पछ्याउन नसकिने उनको भनाइ छ । उनले भने, ‘हाम्रो आफ्नै तरिकाले बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको छ।’ आफू प्रधानमन्त्री हुँदा मध्यपहाडी राजमार्ग र ‘लिङ्क रोड’ को विकासमा विशेष ध्यान दिएको अध्यक्ष दाहालले बताए।
आफैँले ल्याएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको उनले औंल्याए। उनले भने, ‘त्यसका लागि अरु मन्त्रालयहरुले पनि समन्वयात्मक ढङ्गबाट ऐन, नीति बनाउन लाग्नुपर्छ।’











