आज तालमेलको मोडालिटी टुंग्याउने गठबन्धनको तयारी
काठमाडौं, चैत २९ : आगामी स्थानीय निर्वाचनका लागि तालमेलको मोडालिटी टुंगो लगाउने सत्तारुढ गठबन्धनले तयारी गरेको छ।यसका लागि आज सत्तारुढ गठबन्धनको बैठक बस्दै...
काठमाडौं, चैत २९ : आगामी स्थानीय निर्वाचनका लागि तालमेलको मोडालिटी टुंगो लगाउने सत्तारुढ गठबन्धनले तयारी गरेको छ।
यसका लागि आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सोमबारको गठबन्धनको बैठकले संयुक्त अपील जारी गरेको थियो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त अपीलमा आगामी निर्वाचनमा आपसी सहकार्य र परस्पर सहयोगका लागि पाँच दलका नेता कार्यकर्तालाई आह्वान गरिएको थियो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन गरिएको समितिले तालमेलको मोडालिटीबारे प्रतिवेदन बुझाएको छ। अब आजको बैठकमा तालमेलको मोडालिटीबारे टुंगो लगाइने कार्कीले जानकारी दिए।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले तयारी थालिसकेको छ। केही जिल्लाका मतपत्र समेत छापिइसकेका छन्।











