पनौतीको १२ वर्षे हरसिद्धि जात्रा सुरु
काभ्रे, चैत २९ : काभ्रेको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सुरु भएको छ।ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा...
काभ्रे, चैत २९ : काभ्रेको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा सुरु भएको छ।
ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ।
हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा (भेडा) को बली चढाइन्छ। त्यसपछि पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएर राख्ने चलन रहेको जात्राका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यले बताए।
उनका अनुसार आज बिहानैदेखि नाचगान सुरु हुने र बुधबार जात्रा समापन गरी वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात देवगणहरु फर्किने कार्यक्रम रहेको छ।
६० वर्षदेखि पनौतीमा पनि मनाउन थालिएको यो जात्रा विविध कारणले निरन्तररूपमा मनाउन सकिएको थिएन। यसअघि २०६६ सालमा जनसहभागिताबाट रकम सङ्कलन गरेर भव्यरूपमा जात्रा सञ्चालन गरेकोमा त्यसको ठीक १२ वर्षपछि जात्रा सुरु भएको जात्रा मूल व्यवस्थापन समितिका संयोजक सुरेश सैँजुले बताए।
उनका अनुसार जात्रा सञ्चालनका लागि पनौती नगरपालिकाबाट १५ लाख प्राप्त गरिसकेको र नपुग रकमका लागि आजीवन सदस्यता शुल्कको प्राप्त ब्याजबाट व्यवस्थापन गर्ने गरी जात्रा सञ्चालन भइरहेको हो।
त्रिशक्ति हरसिद्धिको पनौतीमा बास रहुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ। करिब दुई हजार वर्ष पहिले प्रारम्भ भएको मानिने हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आफ्नै भिन्न पहिचान भएको प्राचीन नगर पनौती विशेषगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको एक तीर्थस्थलका साथै यहाँका सांस्कृतिक एवं पुरातात्विक सम्पदाको हिसाबले पनि खुला जीवित सङ्ग्रहालयको रूपमा परिचित छ। (रासस)












