गभर्नरमाथि कानुनसम्मत तरिकाले छानबिन हुन्छ : अर्थमन्त्री शर्मा
काठमाडाैं, चैत २८ : अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए। अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्र बैंक...
काठमाडाैं, चैत २८ : अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए।
अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए। छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे।
गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो। गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ।
छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उनले स्पष्ट पारे। निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ।
आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको भनाइ छ।











