Kathmandu Press

प्रेस काउन्सिलको बयानमा धमलाले भने– अब आचारसंहिता राम्ररी पढ्छु

काठमाडौं, चैत २८ : पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानको ककपिटभित्र बलजफ्ती घुस्न खोजेको विषयमा नेपाल प्रेस काउन्सिलमा सोमबार बयान दिएका...
प्रेस काउन्सिलको बयानमा धमलाले भने– अब आचारसंहिता राम्ररी पढ्छु

काठमाडौं, चैत २८ : पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानको ककपिटभित्र बलजफ्ती घुस्न खोजेको विषयमा नेपाल प्रेस काउन्सिलमा सोमबार बयान दिएका छन्। काउन्सिलको आचारसंहिता अनुगमन समिति समक्ष धमलाले एक घन्टा बयान दिएका हुन्। 

धमलाले आफ्नो क्रियाकलापले पत्रकार आचारसंहिता उल्लंघन भएको भए क्षमा याचना गर्ने भनाइ मौखिक बयानमा राखेको काउन्सिल स्रोतले जनाएको छ।  बयानका क्रममा पत्रकार आचारसंहिताबारे आफूले राम्ररी नबुझेको भनाई राख्दै अब पढ्ने बताएका थिए।

बयानमा धमलाले राखेको कुरा उद्धृत गर्दै काउन्सिल स्रोतले भन्यो, ‘मैले आचारसंहिता अध्ययन गरेको रहेनछु। अब राम्ररी पढ्छु। यसलाई मनन गर्छु। त्यसपछि अरू पत्रकारहरूलाई पनि आचारसंहिता अध्ययन गराउन क्याम्पेन नै चलाउँछु।’

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरूले धमलासँग मौखिक बयान लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा विमान अवतरण भएपछि ‘टेलिभिजन लाईभ’ भन्दै अत्यन्त संवेदनशील मानिने ककपिटभित्रै घुस्नका लागि पाइलट, एयर होस्टेज र चालक दलका सदस्यलाई कर्मचारीमाथि जबर्जस्ती गरेको आरोप धमलामाथि लगाइएको छ। 

धमलाको उक्त कार्य अभद्र, पत्रकार आचारसंहिता, उडान सुरक्षा प्रोटोकल एवं सामान्य नैतिकताकोसमेत बर्खिलाप रहेको भन्दै सबैतिरबाट आलोचना भएपछि काउन्सिलले स्वयं जानकारीमा लिएर लिखित स्पष्टीकरण सोधेको थियो।

काउन्सिलको उक्त कदमलाई ‘काउन्सिल एक्टीभिजम’ का रुपमा हेरिएको छ। स्पष्टीकरण जवाफ चित्तबुझ्दो नभएको भन्दै सोमबार मौखिक बयान लिइएको हो। धमलाको बयानका बिषयमा काउन्सिलले थप अध्ययन पछि कारबाही प्रक्रियाको विषयमा ठोस निर्णय लिने भएको छ।
 

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्