‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गरौं’
काठमाडौं, चैत २८ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन्।नदीकिनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा...
काठमाडौं, चैत २८ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन्।
नदीकिनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन्।
आज अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको २८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्ति प्रदूषित हुँदा बागमती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन्।
उनले भनिन्, “सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोसुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ। नेता सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई संरक्षण गरिरहेका छन्। यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ।”
उनले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्नसक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरुको रटानका कारण थप समस्या सिर्जना भएको बताइन्।
हाल विद्यमान कानुन र स्रोतसाधनले बागमती सभ्यतालाई सफा र सुन्दर बनाउन सकिने बताउँदै मन्त्री झाँक्रीले यसमा सबैको प्रतिबद्धताको आवश्यकता रहेकामा जोड दिइन्।
कार्यक्रममा सरकारका पूर्वमुख्य सचिव एवं वाग्मती सफाइका मुख्य अभियन्ता लीलामणि पौड्यालले वाग्मती नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई सरकारले छिटो व्यवस्थित गर्नुपर्ने बताए।
देशैभरका नदी किनारालाई समेत व्यवस्थित गर्न सहयोग पुग्ने खालको ऐन ल्याउन उनले सरकारसँग माग गरे।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पूर्ण अधिकारसहितको वाग्मती सभ्यता ऐन र पर्याप्त लगानी बजेट नहुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भइरहेको बताए।











