आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रित हुन निजी क्षेत्रलाई सभामुखकाे आह्वान
काठमाडाैं, चैत २८ : सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ...
काठमाडाैं, चैत २८ : सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रसमक्ष आह्वान गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेको बताए।
सभामुख सापकोटाले निजी क्षेत्रसँग ज्ञान, सीप, प्रतिभा र क्षमता सबै भएको भन्दै वर्तमान आर्थिक जटिलताबाट पार पाउन पनि यस क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राखे।
देशमा लगानी विस्तार तथा अन्य वातावरण बनाउन सभामुखका तर्फबाट खेल्नुपर्ने भूमिका इमान्दार भएर पूरा गर्न आफू तयार रहेको उनको भनाइ थियो।
सभामुख सापकोटाले निजी क्षेत्रको क्षमतालाई प्रयोग गरेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्ने धारणा राखे।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले आफुहरु लगानी गर्न तयार रहेको भन्दै लगानीको प्रक्रिया सहज बनाउनुपर्ने बताए। निजी क्षेत्रलाई राजश्वकोे स्रोतका रुपमा मानिएको तर विकासको साझेदार भने नमानिएको उनले बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुने धारणा राखे।











