‘नेतृत्वमा पुगेका महिला राम्रो काम गर्न सफल'
काठमाडाैं, चैत २८ : राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन्। नारी म्यागजिनले...
काठमाडाैं, चैत २८ : राजनीतिज्ञ, अधिकारका क्षेत्रमा कार्यरत, व्यवसायी, शिक्षाका क्षेत्रमा कार्यरतलगायतले महिला नेतृत्वमा पुग्दा राम्रो काम गर्न सफल भएको बताएका छन्।
नारी म्यागजिनले आज आयोजना गरेको अन्तरक्रियामा उनीहरुले सबै क्षेत्रमा महिलाको नेतृत्व स्थापित गर्न आवश्यक भएको बताए।
प्रथम महिला आरजु राणा देउवाले आफूले मिडिया, सेना, प्रहरी, इञ्जिनीयरिङलगायत सबै क्षेत्रमा महिलाको नेतृत्व हेर्न चाहेको बताइन्।
उनले भनिन्, 'राष्ट्रपति, सभामुखलगायतका विभिन्न क्षेत्रमा महिला पुग्नुभएको छ, अरु क्षेत्रमा पनि महिला पुग्न आवश्यक छ।' महिलाले राजनीतिमा गएपछि आफूले चाहेको परिवर्तन सम्भव हुने संविधानसभा सदस्य देउवाले बताइन्। राजनीतिमा प्रत्यक्षरुपमा संलग्न हुँदा नै राज्यको कार्यक्रम र नीति बनाउन सकिने उनले बताइन्। राजनीतिमा लाग्दा कतिपय कठिनाइ भए पनि परिवर्तन गर्न सकिने अवसर हुने उहाँको भनाइ छ।
महिलाले दुःख पर्दा रुन सक्ने भए पनि पुरुषले नसकेको क्लिनिकल साइक्लोजिस्ट डा. विजय ज्ञवलीले बताउनुभयो। उनका अनुसार उपचारका लागि आउने धेरै पुरुष रुने गरेका छन् र तिनलाई श्रीमती वा परिवारका अघि किन नरोएको भन्दा आफू कमजोर देखिन हुँदैन भन्ने मानसिकता पाइएको छ।
अधिकारकर्मी सिर्जना सिंहले राजनीतिक परिवारमा छोरी वा बुहारीलाई अघि बढ्न सजिलो हुने बताइन्। राजनीतिमा संलग्न सासू, ससुरा र श्रीमान्का कारण आफूले सधैँ सहयोग पाएको उनले बताइन्।
युनिग्लोब विद्यालयकी प्रधानाध्यापक भवानी राणाले बालबालिकाको पहिलो विद्यालय घर नै भएकाले आधारभूत कुरा घरमा नै सिकाउनुपर्ने बताइन्। विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै बालबालिकाका लागि ‘रोल मोडल’ बन्न सक्ने उनको भनाइ छ ।
व्यवसायी रितु वैद्यले विवाह र सन्तान जन्मिएपछि महिलाका जीवनमा धेरै चुनौती थपिने गरेको बताइन्। परिवारले सहयोग गर्दा विवाहपछि पनि महिलाले करियर अघि बढाएर सफल बन्नसक्ने उनको भनाइ छ।












