Kathmandu Press

‘मासु’मा विवाद हुँदा जेएनयुका दुई विद्यार्थी संगठनबीच झडप, छात्रामाथि शारीरिक दुर्व्यवहार

‘मासु’मा विवाद हुँदा जेएनयुका दुई विद्यार्थी संगठनबीच झडप, छात्रामाथि शारीरिक दुर्व्यवहार

काठमाडौं, चैत २८ : भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा वाम र हिन्दुवादी विद्यार्थी संगठनबीच झडप भएको छ। 

रामनवमीको दिन विश्वविद्यालयको काभेरी होस्टलमा अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी) र जवाहरलाल नेहरु युनिभर्सिटी स्टुडेन्ट युनियन (जेएनयुएसयु)का कार्यकर्ताबीच झडप भएको हो। 

रामनवमीका दिन होस्टेलको भान्सामा नन–भेज परिकार बनाइएको भन्दै एविभिपीमा आवद्ध विद्यार्थीहरुले जेइनयुएसयुमा आवद्ध विद्यार्थीमाथि आक्रमण गरेको भारतीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन्। 

एविभिपीले मेन्युबाट ननभेज परिकार हटाउनुपर्ने माग गरेका थिए भने जेएनयुएसयुले त्यसको विरोध गरेका थिए। सोही विषयमा विवाद भएपछि दुई समूहबीच झडप भएको हो।

जेएनयुएसयुले एबिभिपीले विश्वविद्यालयमा हिन्दु अतिवाद लाद्न खोजेको भन्दै अन्य विद्यार्थी संगठनलाई पनि विरोधमा उत्रि आह्वान गरेको थियो। होस्टेलको क्यान्टिनमा विरोध भइरहेको अवस्थामा एविभिपीका कार्यकर्ताहरुले विरोध गरिरहेका विद्यार्थीमाथि एक्कासी आक्रमण गरेको उनीहरुले बताएका छन्। 

वाम विद्यार्थी संगठन आइसाको आधिकारिक ट्वीटरमा एक छात्राले आफूमाथि दुव्र्यवहार भएको समेत बताएकी छन् । भिडियोमार्फत छात्राले क्यान्टिनभित्र आक्रमण गर्न आएका व्यक्तिहरुले जथाभावी शरीरमा छोएको, शारीरिक शोषण गरेको, थप्पड, लात्ती हान्नेमात्र नभई ट्युबलाइट, ईटाजस्ता वस्तुले समेत आक्रमण गरेको बताएकी छन्। 

युनियनकी अध्यक्ष आइसी घोसले एबिभीपीको उक्त कदम हिन्दु हेजेमोनी कायम गर्नेे र जेएनयुको जस्तो प्रजातान्त्रिक र धर्मनिरपेक्ष वातावरणलाई खलल पुर्याएको बताइन् । 

अखिल भारतीय विद्यार्थी परिषद्ले उक्त विषयको खण्डन गरेको छ । सो संगठनले आफुविरुद्ध आइसाले अफवाह फैलाएको आरोप लगाएको छ।   

दुई समूहबीच झडप हुँदा होस्टेलमा भौतिक क्षति भएको छ भने कैयौं विद्यार्थी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। घटनाको विरोध गर्दै आइसा सडकमा उत्रेका छन्। 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्