Kathmandu Press

वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सुर्खेत, चैत २८ : सत्तासाझेदार दलले कर्णाली प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।नेपाली कांग्रेसका...
वीरेन्द्रनगरमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सुर्खेत, चैत २८ : सत्तासाझेदार दलले कर्णाली प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काको अध्यक्षतामा बसेको नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा साझेदार दलबीच तालमेल गरेर जाने निर्णय गरेको हो।

बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको छ। कांग्रेस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरु सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिए।

बैठकमा नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकीकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए।

यसअघि सुर्खेतस्थित ती दलहरुको बैठकले निर्वाचनमा जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेको थियो।

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्