Kathmandu Press

म्याग्दीका राजनीतिक दल उम्मेदवार टुंगाे लगाउन व्यस्त

बेनी, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुंगाे लगाउन व्यस्त छन्।६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा...
म्याग्दीका राजनीतिक दल उम्मेदवार टुंगाे लगाउन व्यस्त

बेनी, चैत २७ : आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दल उम्मेदवारको टुंगाे लगाउन व्यस्त छन्।

६ स्थानीय तह रहेको जिल्लामा निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ तथा मान्यता नपाएका १४ राजनीतिक दल दर्ता भएका छन्।

राजनीतिक दलसँगै केही स्वतन्त्र उम्मेदवारले समेत आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। राजनीतिक दलले वडासमितिमार्फत वडा र पालिका समितिमार्फत पालिकामा उम्मेदवार छनोट गर्न थालेका छन्।

जिल्लामा अहिलेसम्म औपचारिक रुपमा पालिकाको प्रमुख र उपप्रमुख पदमा दलहरुले उम्मेदवारको टुंगाे नलगाए पनि वडामा धमाधम उम्मेदवार छान्न थालेका छन्। 

नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले १४ र एमाले १८ वडामा वडा समितिमार्फत सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार छनोट गरेका छन्। केन्द्रीय सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी गठबन्धनको घोषणा गरिए पनि भागबन्डाबारे सहमति भइसकेको छैन। 

वडामा उम्मेदवार छनोटको क्रम बढेको छ। उम्मेदरवार बन्न यसअघिको निर्वाचनमा भन्दा बढी इच्छुक देखिएका छन्। २०७४ को निर्वाचनमा स्थानीय तहको वडा सदस्य, वडाध्यक्ष र स्थानीय तहको प्रमुखउपप्रमुखमा विजयी भएका अधिकांशबीच नै पुनः उम्मेदवार बन्ने होडबाजी चलेको छ। छनोट भएका वडाका उम्मेदवार अधिकांश दोहोरिएका छन्। 

माओवादी केन्द्रले यसअघि वडाध्यक्षमा निर्वाचित दुईजनालाई पुनः निरन्तरता दिन टुंगाे लगाएको छ। हाल वडाध्यक्ष रहनुभएका बेनी नगरपालिका–३ मा पदमा पुन र अन्नपूर्ण गाउँपालिका–२ मा ओमप्रसाद फगामीलाई पुनः अध्यक्ष पदको उम्मेदवार बनाएको छ।

लोकप्रिय काम गरेकालाई पुनः उम्मेदवार बनाउन लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताए। रघुगंगा-२ मा माओवादीबाट वडाध्यक्षमा निर्वाचित रिम कटुवाल गाउँपालिका अध्यक्षको प्रत्यासी छन्। 

एमालेले वडा कमिटीमार्फत उम्मेदवारको टुंगाे लगाउन थालेको छ। वडा कमिटी बैठकबाट सर्वसम्मत भए एक जना र सहमति हुन नसके बढीमा तीन आकांक्षीको नाम पालिका कमिटी हुँदै जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए।

वडामा यसअघि विजयी भएका जनप्रतिनिधि धेरैजसो पुनःउम्मेद्वार बन्न इच्छुक छन्। बेनी नगरपालिका–६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष कृष्णसिंह बानियाँ पुनः उम्मेदवार सर्वसम्मत भएकाे छ। एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि पुनः गाउँपालिकाको नेतृत्वका लागि इच्छुक देखिएका छन्। 

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले पुनः सोही पदमा दोहोर्‍याउने गरी उम्मेदवार बन्न पार्टीमा छलफल चलाएका छन्।

यसअघि मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित खरमाया बिटालु यसपटक गाउँपालिका अध्यक्षमै उम्मेदवार बन्ने दौडधुपमा छन्। धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालसमेत पार्टीबाट पुनःउम्मेदवार बन्न इच्छुक छन्।  

कांग्रेसबाट निर्वाचित जनप्रतिनि पनि पुनः उम्मेदवार बन्ने प्रतिस्पर्धामा छन्। वडा समितिबाट सर्वसम्मत रुपमा उम्मेदवार टुंगाे लगाएकामध्ये रघुगंगा गाउँपालिका-१ बेगमा बिलप्रसाद फगामी, ५ झिँ मा मनबहादुर शेरमञ्जा र वडा नम्बर ८ कुइनेमङ्गलेमा गमान छन्त्याल पुनः वडा अध्यक्षको उम्मेदवार बन्ने निश्चित छ । तीनै जना २०७४ को निर्वाचनमा वडाअध्यक्षमा चुनिएका थिए। 

बेनी–८ बाट वडाध्यक्षको उम्मेदवारमा यसअघि वडासदस्य रहनुभएका हिमबहादुर भण्डारीलाई कांग्रेसले सर्वसम्मत छनोट गरेको छ। मालिका गाउँपालिका–१ निस्कोटमा वर्तमान वडाध्यक्ष टंकप्रसाद पुनलाई नै पुनः उम्मेदवार छनोट गरिएको छ। रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी समेत पुनः कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने होडमा छन्।

कांग्रेसबाट वडा ३ का वडाध्यक्ष जीवनकुमार मल्ल र वडा ६ का वडाध्यक्ष एवं कांग्रेस पालिका समितिका मनकुमार शेरपुञ्जा पनि अध्यक्षको प्रत्यासी छन्। 

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवाल गाउँपालिका अध्यक्षमा उम्मेदरवार बन्न दौडधुपमा छन्। मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका पुन: गाउँपालिका अध्यक्षमा उठ्ने कसरतमा छन्।

पार्टीले वडामा सर्वसम्मत रुपमा उम्मेदवार छनोट गर्न नसकेको खण्डमा पालिका समितिहुँदै जिल्ला कार्यसमितिमा आकांक्षीको नाम सिफारिस गर्न निर्देशन दिएबमोजिम उम्मेदवार छनोट भइरहेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए।

जिल्लामा मंगाेल नेसनल अर्गनाइजेसनले पालिका उम्मेदवार छान्न सुरु गरेको छ। रघुगंगा-२ का सागर भण्डारी र अनुरोध रिजालले स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ८५ हजार ३७५ मतदाता छन् । मतदानका लागि ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: १८:०४ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्