Kathmandu Press

स्थानीय तहको निर्वाचन : बाँकेका राजनीतिक दल गाउँ छिरे

स्थानीय तहको निर्वाचन : बाँकेका राजनीतिक दल गाउँ छिरे

 बाँके, चैत २७ : स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू गाउँगाउँ छिर्न थालेका छन्।

खासगरी प्रमुख राजनीतिक दलहरू एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरू वडास्तरमा वडा कार्यालय स्थापना गर्दै गाउँ छिर्न थालेका छन्।

माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य आइपी खरेलले पार्टीको तयारीका लागि आफूहरू गाउँ छिर्न लागेको उल्लेख गर्दै सबै पार्टीहरूले आआफ्नो तयारी गरिरहेको जानकारी दिए। कांग्रेस, बाँकेका सभापति नारायण गौडेलले निर्वाचनका लागि आफूहरू गाउँ छिरिसकेको उल्लेख गर्दै स्थानीय तहको ८१ वडामा नै पार्टीको वडा कार्यालय स्थापना भएको जानकारी दिए।

एमाले, बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले पार्टीको वडास्तरमा उम्मेदवार छनोटको विषयमा निर्वाचन भएको र पालिकास्तरमा उम्मेदवार सिफारिसका लागि चुनाव हुने जानकारी दिँदै स्थानीय तहका अधिकांश वडामा पार्टीको वडा कार्यालय स्थापना भएकाले गाउँ छिर्न थालेको उल्लेख गरे। 

'पार्टीलाई सबै स्थानीय तहमा जिताउन आन्तरिक छलफल र बैठक जारी छन्,' उनले भने। प्रमुख राजनीतिक दल बाहेकका मधेसवादी राजनीतिक दल र साना राजनीतिक दल पनि गाउँ छिर्न थालेका छन्।

जिल्लामा स्थानीय तहको निर्वाचनका लागि सबै राजनीतिक दलको ध्यान नेपालगञ्ज उपमहानगरको नेतृत्व कसलाई दिने भन्नेमा केन्द्रित देखिएको छ। अहिले नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट सत्तागठबन्धनबाट प्रमुखमा, उपप्रमुख उमा थापामगर, महासमिति सदस्य निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया, नगरसभापति प्रशान्त विष्ट, व्यापारिक पृष्ठभूमिका अच्युतप्रसाद प्रसाईं र ललितकुमार रौनियारमध्येबाट एकजनालाई उम्मेदवार बनाउने गरी तयारी अघि बढाएको बताइएको छ। 

माओवादी केन्द्रले नवीन शर्मा, व्यापारी नेता नन्दलाल वैश्य र आदेश अग्रवालको नाम चर्चामा ल्याएको छ। एमालेका तर्फबाट पशुपति दयाल मिश्रका नाममा पार्टीभित्र असहमति देखिएको छैन। 

राप्रपाबाट प्रमुख जितेका डा. धवलशम्शेर राणाले स्थानीय निर्वाचन नलड्ने घोषणा गरेकाले पार्टीबाट प्रमुखमा उम्मेदवार बन्ने निश्चित गरेको छैन तर औषधि व्यवसायी अभयकुमार बस्नेत र हाल वडा ४ का वडाध्यक्षसमेत रहेका सफिक बेहनाले प्रमुखका लागि आफ्नो दाबी रहेको बताएका छन्।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्