Kathmandu Press

कल्याण कोषबाट प्रहरी अस्पताललाई २ करोड

कल्याण कोषबाट प्रहरी अस्पताललाई २ करोड

काठमाडाैं, चैत २७ : पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु. दुई करोड हस्तान्तरण गरेको छ। 

अस्पतालको ३८औं वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रु दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे।

Hardik ivf

सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गरेका थिए। समरोहमा प्रहरी महानिरीक्षक थापाले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्वमहानिरीक्षकले निर्वाह गरेको योगदानको प्रशंसा गर्दै कोभिड–१९ को सङ्क्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको स्मरण गरे।

उनले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गरे। नेपाल प्रहरी अस्पतालको विद्यमान सेवालाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे।

नेपाल प्रहरी श्रीमती संघको तर्फबाट अध्यक्ष सिर्जना थापाले अल्ट्रासाउन्ड र फिजियोथेरापीका लागि प्रयोग हुने यन्त्र उपकरण हस्तान्तरण गरेको थियो। वार्षिकोत्सवका अवसरमा संघका पदाधिकारीले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण पनि गरेको थियो।  

आजै अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र नेपाल मेडिकल जर्नलको लोकार्पण गरिएको थियो। 

यस अवसरमा अस्पतालको सेवा प्रवाहमा अविस्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र प्रदान गरियो। अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सधैं तत्पर रहेको बताए। 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्