धरान मेयर उम्मेदवारमा एमालेबाट ११ जनाकाे नाम सिफारिस, उपमेयरमा ७ जना
धरान, चैत २७ : आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका आकांक्षी धेरै भएपछि धरान उपमहानगरपालिका कमिटीबाट सहमतिमै उम्मेदवार टुंग्याउन एमाले असफल भएको छ।सहमति नजुटेपछि एमाले उपमहानगर कमिटीले...
धरान, चैत २७ : आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका आकांक्षी धेरै भएपछि सहमतिमै उम्मेदवार टुंग्याउन एमाले धरान उपमहानगरपालिका कमिटी असफल बनेको छ।
सहमति नजुटेपछि एमाले उपमहानगर कमिटीले मेयरको उम्मेदवारका लागि आकांक्षी देखिएका ११ जनाकै नाम माथिल्लो निकायमा सिफारिस गरेको छ।
उम्मेदवार टुंग्याउन भन्दै आज (आइतबार) बसेको एमालेको उपमहानगर कमिटीको पूर्ण बैठकले सहमतिमा उम्मेदरवार सिफारिस गर्ने प्रयास गरे पनि सफल हुन नसकेको हो।
सहमतिमै उम्मेदवार तय गर्न नसकिने देखिएपछि आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको धरान एमालेको भनाइ छ। यसरी सिफारिस गरिएका उम्मेदवारमा केन्द्रीइ सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका वर्तमान तथा पूर्वसदस्यहरू छन्।
धरान मेयरका लागि आकांक्षी देखिनेमा केन्द्रीय सदस्य मञ्जु भण्डारी सुवेदी पनि हुन्। उनी अहिले उपमेयर छिन्। मेयरका लागि सिफरिस गरिएका मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, किशोरकुमार कार्की, मोतीराज सुनुवार, दोर्पध्वज राईको प्रदेश कमिटी सदस्य हुन्। उनीहरूमध्ये मेन्याङ्बो पूर्वमेयरसमेत हुन्।
प्रकाश राई २०७६ मंसिरमा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईसँग मेयरमा पराजित भएका थिए। विजय राईको नाम मेयरका लागि भएको उपनिर्वाचनका बेला सिफारिसमा परेको थियो।
त्यसैगरी सिफारिसमा परेका मीनकुमार सुब्बा, नारायण सुवेदी र राजमणि निरौला जिल्ला कमिटी सदस्य हुन्। जिल्ला कमिटीका पूर्वसदस्य तीर्थ मास्केको नाम पनि मेयरका लागि सिफारिस गरिएको छ।
कार्की र सुनुवार मिडिया सञ्चालक हुन्। कार्की ब्लास्ट टाइम्स दैनिक तथा सुनुवार औजार दैनिकका प्रबन्ध निर्देशक हुन्।
उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस भएको छ। जसमा सुशीला पहाडी र लहरू जिमी प्रदेश कमिटी सदस्य हुन्। जिल्ला कमिटी सदस्यबाट पदम इस्वो लिम्बू, सविता चाम्लिङ, इन्द्रकला राई र लिला राईको नाम उपमेयर उम्मेदवारका लागि सिफारिस गरिएको एमालेले जानकारी दिएको छ।
उपमहानगर किमटीबाट सिफारिस भएकाे नाम जिल्ला कमिटीबाट प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुग्ने एमालेले जनाएकाे छ। जिल्ला र प्रदेश कमिटीले आवश्यकताका आधारमा नाम छाँटकाट गर्न सक्ने जनाइएकाे छ।











