Kathmandu Press

उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकम नउठाउन कांग्रेसकाे निर्देशन

काठमाडाैं, चैत २७ : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकम माग नगर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले आज...
उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकम नउठाउन कांग्रेसकाे निर्देशन

काठमाडाैं, चैत २७ : नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकम माग नगर्न निर्देशन दिएको छ। 

केन्द्रीय कार्यालयले आज (आइतबार) प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र जारी गरेर उम्मेदवारी सिफारिस गर्न विधानविपरीत रकम माग नगर्न निर्देशन दिएको हो। 

परिपत्रमा विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावलीबमोजिम लिनुपर्ने सदस्यता शुल्क तथा लेबी लिन तर विधानले तोकेकोभन्दा बढी शुल्क नलिन भनिएको छ।

‘‘उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन हुन जानकारी गराइन्छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,  ‘सोबाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले अन्य कुनै पनि प्रकारको रकम माग गर्नु÷उठाउनु विधानविपरीत हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन हुन समेत निर्देशनानुसार अनुरोध गरिन्छ।’ 

कांग्रेसको विधान २०१७ (संशोधनसहित) तथा कांग्रेसको नियमावली २०७६ मा गरिएको व्यवस्थाअनुसार पार्टीका क्रियाशील सदस्य र लाभको पदमा रहेका पार्टीका सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम लिन नपाउने व्यवस्था भए पनि विभिन्न जिल्ला केन्द्रीय कार्यसमिति र मातहतका निकायले स्थानीय निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारको सिफरिस गर्दा शुल्क निर्धारण गरेको भन्दै गुनासाहरू आएका थिए। 

सोही गुनासोलाई सम्बोधन गदैृ केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र गरेको हो। 

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्