एकीकृत समाजवादीले बनायाे ११११ सदस्यीय निर्वाचन परिचालन कमिटी
काठमाडौं, चैत २७ : नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन...
काठमाडौं, चैत २७ : नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनका लागि १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
पार्टीको आज (आइतबार) सम्पन्न केन्द्रीय सचिवालयको २०औं बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको हो।
समितिमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारीलाई समेटेको जनाइएको छ।
बैठकले निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरेको छ। महासचिव वेदुराम भुसालको संयोजकत्वमा गठित सो समितिमा प्रकाश ज्वाला, गंगालाल तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन्।
सोही बैठकले निर्वाचन घोषणापत्र २०७८ को मस्यौदालाई सुझावसहित पारित गरेको छ। बैठकले स्थानीय तहको उम्मेदवारका लागि मापदण्डसमेत तय गरेको महासचिव भुसालले जानकारी दिए।











