एकिकृत समाजवादीले वैशाख ८ गतेभित्र स्थानीय तहको उम्मेदवार टुंग्याउने
काठमाडौं, चैत २७ : नेकपा (एकिकृत समाजवादी)ले स्थानीय निर्वाचनका लागि वैशाख ८ गतेसम्म उम्मेदवारको टुंगो लगाउने भएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले...
काठमाडौं, चैत २७ : नेकपा (एकिकृत समाजवादी)ले स्थानीय निर्वाचनका लागि वैशाख ८ गतेसम्म उम्मेदवारको टुंगो लगाउने भएको छ। शनिबार र आइतबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने समयतालिका निर्धारण गरेको हो।
सचिवालय बैठकले वडा कमिटीलाई यहि चैत्र ३० गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिएको छ । त्यस्तै पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ । प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण समेत गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको उल्लेख गरिएको छ ।











