४२ महिना सरकार चलाएका ओलीले केही काम गर्न सकेनन् : खनाल
काठमाडौं, चैत २६ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ४२ महिनासम्म सरकारमा बसेका एमाले अध्यक्ष केपी ओलीले केही काम गर्न नसकेको...
काठमाडौं, चैत २६ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ४२ महिनासम्म सरकारमा बसेका एमाले अध्यक्ष केपी ओलीले केही काम गर्न नसकेको बताएका छन्।
पार्टीद्वारा आज (शनिबार) काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले ओलीजस्ता गैरजिम्मेवार व्यक्तिको हातमा मुलुक पर्दा जनताले दुःख पाएको बताए।
‘४२ महिना सरकारमा बसेका केपी ओलीले केही काम गरेनन्। दक्षिणपन्थी आहालमा देशलाई डुबाए,’ उनले भने, ‘यस्ता गैरजिम्मेवार मान्छेहरुको हातमा नेतृत्व पुगेकाले देश र जनताले दुःख पाएका छन्।’
उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले सुरु गर्नुपर्ने आवश्यकता पनि औंल्याए।
एकीकृत समाजवादीका सचिव एवं सो पार्टीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एक्लै चुनावमा गए पनि सानदार जित हासिल गर्ने अवस्था रहे पनि गठबन्धनको सिद्धान्तअनुसार आफूहरू अगाडि बढेको जिकिर गरे।
पार्टीले शिक्षा, स्वास्थ्य, रोजगार, कृषिको क्षेत्रमा विकास गर्ने र समाजमा रहेका तमाम असमानता विरुद्धमा काम गर्न अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।











