Kathmandu Press

पुनर्निर्माणमा साउदी फण्डको सवा ३ अर्ब ४० करोड सहयोग

काठमाडौं, असोज २४ : साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि ११२.५ स....

पुनर्निर्माणमा साउदी फण्डको सवा ३ अर्ब ४० करोड सहयोग

काठमाडौं, असोज २४ : साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निर्माणका लागि ११२.५ साउदी रियाल (करिब ३ अर्ब ४० करोड रुपैयाँ) सहुलियत ऋण प्रदान गरेको छ। 

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले वित्तीय सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि अर्थसचिव डा.खनालले मानवीय उद्देश्यका लागि साउदी अरेबियाले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोगले भूकम्पपीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गरे। 

त्यस अवसरमा फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकामा खुशी व्यक्त गरे। उनले विश्व बैंक तथा तेल उत्पादक तथा निर्यात गर्ने मुलुकहरुको सदस्यका रुपमा पनि साउदीले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

सम्झाैता हुनुअघि फण्डका उपाध्यक्ष डा.अल्खुडायरी नेतृत्वको प्रतिनिधिमण्डले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितका अधिकारीहरुसँग छलफल गरेको थियो।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणमा रहेको वित्तीय खाडलको पूर्ति गर्न साउदी फण्डले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। उनले पुनर्निर्माणमा विभिन्न मित्रराष्ट्र एवं विकास साझेदारहरुको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै साउदी फण्डको सहयोगको उचित सदुपयोग हुने बताए।

छलफलका क्रममा फण्डका उपाध्यक्ष अल्खुडायरीले पुनर्निर्माणको पछिल्लो अवस्था, यसका चुनौती र सिकाइबारे जिज्ञासा राखेका थिए। डा.अल्खुडायरीले नेपालको पुनर्निर्माणको हिस्सा बन्न पाएकोमा खुशी प्रकट गर्दै नेपालको पुनर्निर्माणको सिकाइ विश्वका अन्य भागलाई पनि अनुकरणीय हुने विश्वास व्यक्त गरे।

छलफलमा प्राधिकरणका सचिव शिवहरि शर्मा, प्राधिकरणका सहसचिवद्वय पिताम्बर घिमिरे, भरत अर्याललगायत सहभागी थिए।
 

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, असोज २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्