संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै
काठमाडाैं, चैत २६ : वैदेशिक रोजगार विभागले विभागले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति (म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति) अनलाइन प्रणालीबाट मात्रै जारी...
काठमाडाैं, चैत २६ : वैदेशिक रोजगार विभागले विभागले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति (म्यानपावर कम्पनीमार्फत लिइने श्रम स्वीकृति) अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ।
श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए।
विभागले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाट प्रदान गर्दै आएको छ। श्रम स्वीकृति अनलाइनबाट जारी हुन थालेसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भिडभाड घटेको छ। अनलाइन प्रणालीले गर्दा सेवा प्रवाहमा व्यापक सुधार भएको विभागले दाबी गरेको छ।
श्रम स्वीकृतिका लागि सेवाग्राही तथा म्यानपावरका कर्मचारी विभागका कार्यालयमा जानुपर्ने अवस्था अन्त्य भएको छ। सम्पूर्ण सेवा ‘फेसलेस’ बनाइसकिएको अवस्थामा बिना कारण म्यानपावर कम्पनीका कर्मचारी कार्यालयमा देखिए सम्बन्धित संस्था र व्यक्तिलाई कारबाही हुने विभागले चेतावनी दिएको छ।












