प्रहरीलाई मुख्यमन्त्री राउतले भने- अपराध अनुसन्धान गर्दा राजनीतिक दबाबमा नपर्नुस्
जनकपुर, असोज २४ : मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।
....
जनकपुर, असोज २४ : मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ ले शुक्रबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने भएकाले आफ्नो स्रोत साधनले भ्याएसम्म प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन आफूहरु प्रतिबद्ध रहेको बताएका हुन्।
उनले अपराध नियन्त्रणका लागि प्रहरीलाई प्रविधियुक्त बनाउनुको विकल्प नरहेको बताए। मुलुक नयाँ संरचनामा गइसकेको अवस्थामा प्रहरीलाई समेत सोही अनुरुप आफूमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्दै उनले मुस्कानसहितको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए।
अपराध अनुसन्धानका क्रममा राजनीतिक आग्रह पूर्वाग्रहबाट जोगिन निर्देशन दिँदै मुख्यमन्त्री राउतले भने,‘दोषी नबचुन र निर्दोष नफसुन भन्ने कुरालाई आत्सात गरेर प्रहरी अघि बढ्नु पर्छ। कहिँकतैबाट राजनीतिक दबाब आउँछ भने वास्ता नगर्नुस्, प्रदेश सरकार तपाईँहरुको साथमा छ।’
प्राकृतिक विपदको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले जनता र प्रहरी बीचको सम्बन्धलाई त्यही अनुरुप अघि बढाउनु पर्ने आवश्यकता रहेको बताए।











