Kathmandu Press

चिनियाँ राष्ट्रपति सी आउँदा साढे दुई घण्टा विमानस्थल बन्द हुने 

काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल आउँदा साढे दुई घण्टाभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द....

चिनियाँ राष्ट्रपति सी आउँदा साढे दुई घण्टा विमानस्थल बन्द हुने 
फाइल

काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल आउँदा साढे दुई घण्टाभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द हुने भएको छ। 

चिङफिङको जहाज उडान/अवतरणका समयमा शनिबार र आइतबार गरी साढे दुई घण्टाभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अतवरण बन्द हुने भएको हो। 

विमानस्थल कार्यालयले शुक्रबार नोटिस टू एयरमेन (नोटाम) जारी गरी शनिबार  २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यवसायिक उडान स्थगन गरिएको जनाएको छ। यस्तनै, चिनियाँ राष्ट्रपति सी फर्किंदा पनि आइतबार बिहान ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द हुनेछ। 

भीभीआईपी विमान आउने समयमा दुई घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान गर्न प्रतिवन्ध लगाइने भएको हो। भारतको समेत भ्रमणमा रहेका राष्ट्रपति सी शनिबार भारतबाट ४ः३० बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले शनिबार र आइतबार उडानबारे नोटाम जारी गरिएको बताए। विमानस्थलले नोटाम जारी गरेपछि कुनै पनि वायुसेवाले उडान÷अवतरण गर्न पाउने छैनन्। नोटामले उडान नगर्न भनेको समयमा पर्ने उडानलाई अघि वा पछाडि सार्नुपर्ने छ। जसका कारण विमानस्थलमा भने २४ घण्टा उडान/अवतरण प्रभावित हुनेछ। 

‘भीभीआइपी उडानमा सबै देशका विमानस्थलमा नोटाम जारी गरिएको हो,’ महाप्रवन्धक केसीले भने।  चिनियाँ राष्ट्रपति सी दुई वटा जेट विमान बोइङ ७४७–८ मा काठमाडौं अवतरण गर्दैछन्। शनिबार आइपुग्ने विमान आइतबारमात्रै चीन फर्कने भएकाले पनि दुई दिन नै उडान प्रभावित हुनेछ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटकमा ९ वटा मात्रै ठूला जहाज पार्किङ गर्न सक्ने छन्। चिनियाँ राष्ट्रपति सीको जेट विमानले ६ वटा जहाजको पाकिङको स्थान लिने छ। 

दुई दिन दुई वटा मात्रै पार्किङ–वेमा जहाज राखेर यात्रु ओराल्ने र चढाउनुपर्ने भनिएको छ। जसका कारण अन्तर्राष्ट्रिय उडानमा असर गर्नेछ।  काठमाडौंमा दैनिक ८० वटा अन्तर्राष्ट्रिय उडान/अवतरण र २ सय ८० वटा आन्तरिक उडान/अवतरण हुने गरेको छ। 
 

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असोज २४, २०७६