चिनियाँ राष्ट्रपति सी आउँदा काठमाडाैंको यातायात २४ घण्टा प्रभावित हुने
काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आउँदा झण्डै २४ घण्टा काठमाडौंको ट्राफिक व्यवस्थापन पूर्ण रुपमा प्रभा....
काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आउँदा झण्डै २४ घण्टा काठमाडौंको ट्राफिक व्यवस्थापन पूर्ण रुपमा प्रभावित हुने भएको छ।
सी शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्। उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्चअधिकारीहरु विमानस्थल पुग्ने तय भएको छ।
शनिबार दिउँसो २ बजेदेखि राष्ट्रपति भवन शीतलनिवासदेखि लाजिम्पाट, दरबारमार्ग, माइतीघर, नयाँ बानेश्वर र एयरपोर्टसम्मको रुटमा कुनै पनि सवारीसाधन चलाउन पाइने छैन।
त्यस्तै, यही रुटका साथै माइतीघरदेखि त्रिपुरेश्वर, टुकु, कालिमाटीबाट होटल सोल्टी क्षेत्रमा पनि कुनै पनि सवारीसाधन चलाउन पाइने छैन। प्रहरीका अुनसार कलंकीदेखि एयरपोर्टसम्म र सोल्टी होटलदेखि राष्ट्रपति भवनसम्म शीतल निवाससम्म सवारी आवागमन पूर्ण रुपमा दुई दिन नै बन्द हुनेछ।
काठमाडौंको रिङ रोडदेखि भित्री सडकमा पनि सवारी बन्द गराएपछि काठमाडौंको ट्राफिक शनिबार अपरान्हदेखि आइतबार अपरान्हसम्म पूर्ण रुपमा प्रभावित हुनेछ।






