सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, सबैको सनाखत
सिन्धुपाल्चोक, असोज २४ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १० जनाकै सनाखत भएकाे छ। दु....
सिन्धुपाल्चोक, असोज २४ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १० जनाकै सनाखत भएकाे छ। दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन्।
काठमाडौंका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटना भएको थियो।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै र पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए।
सिन्धपाल्चोक इन्द्रावती गाउँपालिका–९ बस्ने हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती गाउँपालिका–१० का रितेश आचार्य, काभ्रेको बनेपा नगरपालिका–३ का केदारनाथ महाजु र पाचँखाल नगरपालिका–६ का संगिता मिजारको घटनास्थलमै मृत्यु भएको डीएसपी काफ्लेले जानकारी दिए।
यस्तै, ललितपुरकी समिता श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ का अनुष तामाङ, इन्द्रवती–९ का जुनादेवी लम्साल, इन्द्रावती–१० का मिना मगर, सुवास अधिकारी र अन्दाजी ६–७ वर्षका सनित पुर्कोटीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ। बसमा ४५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीको प्रारम्भीक अनुमान छ। अन्य घाइतेहरुको जिल्ला अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।






