पोखरामा घरेलु पर्यटकको घुइँचो, जलकुम्भीले फेवाताल कुरुप
पोखरा, असोज २४ : दशैं र तिहारको लामो छुट्टीको मौका छोपेर सुन्दर ताल नगरी पोखरा घुम्न आउनेको अहिले भिडभाड छ। यहाँका होटेलहरु भरिभराउ छन् भने रेस्....
पोखरा, असोज २४ : दशैं र तिहारको लामो छुट्टीको मौका छोपेर सुन्दर ताल नगरी पोखरा घुम्न आउनेको अहिले भिडभाड छ। यहाँका होटेलहरु भरिभराउ छन् भने रेस्टुरेन्ट लगायत अन्य पर्यटकीय क्षेत्रमा भिडभाड छ।
शुक्रबार बिहान यहाँको मौसम सफा छ। सुन्दर माछापुच्छ्रे हल्का खुलेको छ । बिहानै फेवातालको बीचमा रहेको ताल बाराहीमा पूजा गर्न र घुम्न जानेको घुइँचो लागेको थियो। मन्दिरसम्म जान डुंगा चढ्न लामै पालो पर्खिनु पर्ने अवस्था छ। यहाँ घुम्न आउनेहरुको लागि ताल बाराही एक प्रमुख आकर्षण हो।

ताल वरिपरि घुम्न आउनेको बिहानैदेखि घुइँचो छ तर फेवा ताल र त्यस वरिपरिको कुरुप अनुहारले भने सबैको मन दु:खित बनाउँछ। त्योभन्दा बढी यसको कुरुप अवस्थालाई सुधार्न कुनै काम नगर्ने स्थानीय सरकारप्रति आगन्तुकहरुको आक्रोश देखिन्छ।

फेवाताल जलकुम्भी झारको अतिक्रमणले ग्रस्त बनेको छ। फेवा तालको किनाराबाट ताल देखिनै मुश्किल छ।
संघीय सरकारले पर्यटन jर्ष २०२० को दुहाई दिइरहेको अवस्थामा देशकै पर्यटननगरी पोखराको प्रमुख आकर्षण फेवा तालको दुरावस्था पक्कै पनि सह्य हुँदैन। व्यापारिक प्रयोजनका लागि जथाभावी बनाइएका स्थायी तथा अस्थायी संरचनाले ताल वरिपरिको वातावरण झनै बिग्रेको छ। यसप्रति सम्बन्धित निकायले युद्ध स्तरमा सुधारका कदम नचाले पोखराको आकर्षणमा कमि आउने यहाँका स्थानीयकै गुनासो छ ।







