कांग्रेसले गाउँपालिकामा विजयी जनप्रतिनिधि र इकाई सभापतिलाई प्रशिक्षण दिने
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसले गाउँपालिकामा विजयी भएका आफ्ना जनप्रतिनिधि र गाउँपालिकाका इकाई सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ। ....
काठमाडौं, असोज २३ : नेपाली कांग्रेसले गाउँपालिकामा विजयी भएका आफ्ना जनप्रतिनिधि र गाउँपालिकाका इकाई सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखसहित सम्बन्धित गाउँपालिकाका इकाई सभापतिलाई प्रशिक्षण दिने भएको हो। प्रशिक्षण कार्यक्रम कात्तिक १ र २ गते भक्तपुरमा हुनेछ।
मध्यपुर थिमी नगरपालिकाको बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा हुने प्रशिक्षणका लागि कांग्रेसले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङको संयोजकत्वमा सहयोग समिति पनि गठन गरेको छ।
प्रशिक्षणमा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, पालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघ बीच सम्बन्ध र साझा अधिकार,
योजना र बजेट तर्जुमा, स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाइ कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरुकालागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु, कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारीसहितको अवधारणापत्र प्रस्तुत गरिने प्रतिष्ठानका सचिव मुक्ति आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।






