स्थानीय तह निर्वाचन : गाउँ–नगर बालमैत्री छैनन्
वनियानी, चैत २५ : अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिँकिदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित...
वनियानी, चैत २५ : अगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन गइरहेको छ । निर्वाचन मिति नजिँकिदै जाँदा झापाका राजनीतिक दलले मतदाता केन्द्रित आ–आफ्ना गतिविधिलाई तीव्र बनाइरहेका छन् ।
मतदानको अधिकारप्राप्त नभएका तर भविष्यको कर्णधारका रूपमा रहेका बालबालिकासँग सम्बन्धित सवाल राजनीतिक दलले त्यति धेरै चासो र चिन्ता दिएको पाइँदैन । उल्टै आचारसंहिताविपरीत बालबालिकालाई चुनावी गतिविधिमा प्रयोग गरिएको समाचार आउने गरेका छन्।
स्थानीय तह निर्वाचन–२०७४ पछि झापाका १५ पालिकामा स्थानीय सरकार गठन भयो । सो पाँचवर्षे अवधिमा भद्रपुर नगरपालिका मात्र बालमैत्री नगर घोषणा गरिएको छ । सरकारले २०८७ सम्ममा मुलुकलाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको छ ।
स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा झापाका प्रमुख राजनीतिक दलले बालमैत्री गाउँ÷नगर बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे ‘समृद्ध नेपाल, सुखी नेपाली’ हुन बालमैत्री गाउँ–नगर हुन जरुरी रहेको बताउँछन्। घोषणापत्रमै बालबालिकासँग सम्बिन्धत सवालहरूलाई समेट्ने उनले बताए । ‘बोलीमा मात्र होइन, व्यवहारमा पनि उतार्छौँ,’ उनले भने, ‘अबको चुनावमा घोषणापत्रअनुसारको काम गर्ने उम्मेदवार छान्छौँ ।’
त्यस्तै नेकपा (एमाले) झापाका सचिवालय सदस्य देवराज कार्की घरबाटै बालमैत्री व्यवहारको सुरुआत गर्नुपर्नेमा जोड दिन्छन् । उनले आफ्नो पार्टी दत्तचित्त भएर बालबालिकाका सवालमा लाग्ने र लागिरहेको उल्लेख गरे । ‘घरदेखि सबै क्षेत्र बालमैत्री बनाउनुपर्छ', उनले भने, 'संविधानमै व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध छौँ ।’ सबैभन्दा पहिला बालबालिकालाई पार्टीले प्राथमिकता दिएको उनको भनाइ छ ।
सामाजिक परिवेशले समेत बालअधिकारलाई असर गर्ने गरेको नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य बताउँछन्। ‘राजनीतिक दलले बालमैत्री अभियान चलाउनु पर्छ,’ उनले भने, ‘बालबालिकालाई मानसिक असर पर्ने काममा ध्यान दिनुपर्छ।’
संविधानले नै बालबालिकाको अधिकारलाई सुनिश्चित गरेको बताउँदै उनले बालबालिकाको दातृ निकायको प्रचार गर्नुभन्दा परिणामुखी काम गर्नुपर्ने जोड दिए। पार्टीले बालमैत्री अभियानलाई प्राथमिकता दिएको उनको भनाइ छ । उहाँले स्थानीय तह चुनावमा पार्टीले बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाए।
पछिल्लो समय चेतना र पहुँचमा विकास हुँदै गएकाले बालमैत्री सवाल क्रमशः सम्बोधन हुँदै गएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष वेदराज रेग्मीले बताए। ‘सबैको चाहना सन्ततिको उन्नति रहेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पहुँच र चेतनाको विकास हुँदै गएको छ।’ संविधानले नै बालमैत्री सवाललाई सम्बोधन गरेकाले सोको कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहेको उनले बताए।
नगर बाल सञ्जाल भद्रपुरका अध्यक्ष भावना पोरखेल बालबालिकालाई भोलिको कर्णधार मात्र नभई वर्तमानको साझोरदा बनाउनुपर्नेमा जोड दिन्छन्। उनले भोलि भन्दा–भन्दै समय बित्ने भएकाले आजलाई सम्बोधन गर्नुपर्ने बताए।












