त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन
मुग्लिन, चैत २५ : पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ।रिभर फनबीच रिसोर्ट बुट्टारले...
मुग्लिन, चैत २५ : पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ।
रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो।
इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गरेका छन्। जीपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले यसले पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
गण्डकीका अध्यक्ष राना मगरले जीपलाइनले पर्यटन विकाससँगै दुई पालिका जोड्ने काम गरेको बताए। जीपलाइन सञ्चालनसँगै पर्यटकको आवागमन बढ्ने, होटललगायतका व्यवसायीलाई टेवा पुग्ने उनको भनाइ थियो।
रिभर फन विच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमूना भएको बताए। उनका अनुसार ५५८ मिटर लामो उक्त जीपलाइन चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी–१ बुट्टारमा रहेको रिभर फन बिच रिसोर्ट ३५ देखि ४० सेकेन्डमै पुग्न सकिनेछ।
नेपाली नागरिकका लागि एक हजार र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने उनले बताए। जीपलाइन पृथ्वीराजमार्ग छेऊमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने अधिकारीले बताए।
प्रालिका कार्यकारी निर्देशक राजन सिंखडाले तीन करोडमा जीपलाइन निर्माण गरिएको बताए। एडभेञ्चर टुरिजम विकासका लागि उहाँले नेपालमै पहिलोटक ८० प्रतिशत भाग नदीमाथि पर्ने थ्रिलिङ (रोमाञ्चक) किसिमको जीपलाइन भएको बताए।
तीन महिनाभन्दा बढी परीक्षण गरिएको हुँदा कुनै समस्या नदेखिएकाले यो जीपलाइन पूर्ण सुरक्षित रहेको निर्देशक सिंखडाको भनाइ थियो। (रासस)












