Kathmandu Press

यातायात महासङ्घको महाधिवेशन आइतबारदेखि

काठमाडाैं, चैत २४ : देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ सम्म...
यातायात महासङ्घको महाधिवेशन आइतबारदेखि

काठमाडाैं, चैत २४ : देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं राष्ट्रिय महाधिवेशन यही चैत २७ देखि २९ सम्म हुने भएको छ।

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो। महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासङ्घका महासचिव सरोज सिटौलाले महाधिवेशनको उद्घाटन काठमाडौँ रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा तथा बन्दसत्र र निर्वाचनको कार्यक्रम भने ललितपुरको गोदावरीमा गर्ने गरी तयारी थालिएको जानकारी दिए।

महाधिवेशनमा देशभरका सातै प्रदेशका यातायातमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ। महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनी आबद्ध छन्।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले महाधिवेशनमा देशभरबाट एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने बताए।

महासङ्घको महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ। महासङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्