सर्लाहीमा छिमेकीकाे सेप्टिक ट्यांकीभित्र भेटियाे बालकको शव
सर्लाही, चैत २४ : सर्लाहीको मलंगवामा सेप्टिक ट्यांकीभित्र आज (बिहीबार) बिहान १० वर्षीय बालकको शव भेटिएको छ।उक्त शव मलंगवा नगरपालिका–१२ गम्हरियाका आकाश ठाकुरको...
सर्लाही, चैत २४ : सर्लाहीको मलंगवामा सेप्टिक ट्यांकीभित्र आज (बिहीबार) बिहान १० वर्षीय बालकको शव भेटिएको छ।
उक्त शव मलंगवा नगरपालिका–१२ गम्हरियाका आकाश ठाकुरको रहेको प्रहरीले जनाएको छ। जितेन्द्र ठाकुरका छाेरा मिठु भनिने आकाश पाँच दिनदेखि हराइरहेका थिए।
छिमेकी जगदीश ठाकुरको शौचालयको सेप्टिक ट्यांकीमा बोराभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालकको हत्या गरी शव बोरामा हालेर सेप्टिक ट्यांकीभित्र फालिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए। बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो।
बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ। प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको मलंगवा–१२ गम्हरीयाका वडा अध्यक्ष रामदरश रायले जानकारी दिए।
जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलामा हत्या गरेर बोराभित्र शव राखेर सेफ्टी ट्याङ्कीभित्र लुकाएको वडाध्यक्ष रायले बताए।
बालकको शव सेफ्टी ट्ययाङ्कीभित्र लुकाएर माटोले लिपिएको अवस्थामा फेला परेको उनले जानकारी दिए।
‘मृतक बालकका परिवारसँग रु. १५ लाख फिरौतीसमेत माग गरिएको थियो,' वडाध्यक्ष रायले भने, 'फिरौतीका लागि बालकको अपहरण गरिएको थियो तर पोल खुल्ने डरले बालकको हत्या गरिएको रहेछ।'
छोरो हत्याको घटना सुनेर उनको आमा अहिले बेहोस भएकी छन्। उनको मलङ्गवास्थित ओम अस्पतालमा उपचार भइरहेको छ।












