Kathmandu Press

सधैँको पीर सिद्धबाबा भिर !

रुपन्देही, असोज २३ :  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो।

पाल्पाबाट ....

सधैँको पीर सिद्धबाबा भिर !
फाइल

रुपन्देही, असोज २३ :  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुङ्गा खस्यो।

पाल्पाबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुङ्गा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए। ढुङ्गा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय कमल राउत गम्भीर घाइते भए। बसमा सवार अन्य यात्रु भने सकुशल नै रहे। 

झण्डै चार हप्ताअघि भदौ २७ गतेका दिन यही सडकखण्डकोे सिद्धबाबा क्षेत्रमा एकैचोटी दुई वटा गाडी पहिरोले पुर्‍यो। पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ५९३८ नम्बरको स्कारपियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाए। अन्य चार जना घाइते भए। 

यो घटनाको ठीक एक महीना अगाडि गत असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाए। लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए। पहिरोसँगै बगेर भिरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भिरबाट निकालेको थियो। 

हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्ने गरेको छ। यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नु परेको गुनासो गर्छन्। “सिद्धबाबा त अहिले सारै डरलाग्दो  भयो, सडक पार नगर्दासम्म कहाँनिर ढुङ्गा खस्छ भनेर गाडी कुदाउनुपर्छ”, विगत १० वर्षदेखि बुटवल–तम्घास–अर्घाखाँची रुटमा सवारी चलाउँदै आएका कुलबहादुर रास्कोटीले भने, “अब यो सडकको विकल्प खोज्नुपर्छ।”

मौसम खराब हुने बित्तिकै सिद्धबाबामा पहिरो र ढुङ्गा खस्ने भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जातर्फ जाने सवारी चालकहरु डराउँछन्। पानी परेका बेला त्यतातिर गाडी जान मान्दैनन्, गए पनि ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता छ, बुटवल पाल्पा बस काउन्टरका कर्मचारी जोग बहादुर श्रेष्ठ भन्छन्।

सिद्धबाबा क्षेत्र हुँदै प्रत्येक दिन सानाठूला गरी चार हजार एक सय सवारी गुड्ने गरेको दोभान प्रहरी चौकीका हवल्दार पाराशोर डाँगीले जानकारी दिनुभयो । बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ वटा बस छुट्छन्। तीमध्ये नौ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासे लगायतका स्थानमा पुग्छन्।

प्रत्येक १५-१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरुले यात्रा गर्ने गर्छन्। “अप्ठ्यारो भनेर के गर्नु हरेक दिन यात्रा गर्नुपर्ने बाध्यता छ, सिद्धबाबा पुगेपछि यात्रु पनि सारै डराउँछन्”, लु २ ख ४२९८ नम्बरको बसका सहचालक नारायण बहादुर राना भन्छन्, “सिद्धबाबा भिर कटेपछि बल्ल सास फेर्छौं।”

“बुटवल आउने काम परिरहन्छ तर सिद्धबाबाको सडकले सातो लैजान्छ, न त हिँडेर निर्वाह हुन्छ”, पाल्पा तानसेनकी मैना सुवेदी भन्छिन्, “भगवान्को नाम जपेर यात्रा गर्छु।” सिद्धबाबा क्षेत्र हुँदै पश्चिम नेपाल बस व्यवसायी प्रालीका झण्डै ३०० गाडी आवतजावत गर्ने गरेको अध्यक्ष दधिराम खरेल बताउँछन् । “सडकको अवस्था ज्यादै नाजुक भयो”, अध्यक्ष खरेलले भने,“सरकारले सडकको विकल्प खोज्नुपर्छ।”

सिद्धबाबा सडकको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले वैकल्पिक सडकका रुपमा बुटवलदेखि चरङ्गे हुँदै झुम्सासम्मको सडक निर्माण प्रक्रिया शुरु गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव नुरमोहम्मद खाँ बताउँछन्। यो सडक निर्माणका लागि रु १० करोड बजेट विनियोजन भएको उनको भनाइ छ।

सिद्धबाबा सडकको जोखिम सधैँका लागि अन्त्य गर्न सरकारले सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएको पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले जानकारी दिए। “सिद्धबाबा सडकको विषयलाई सरकारले गम्भीर रुपमा लिएर सुरुङ मार्गको प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने, “केही महिनामै टेन्डर गर्ने तयारी छ।” रासस

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्